~ मनु ब्राजाकी : दुई किलो माछा लिएर ऊ आइपुग्यो । घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो । सधैं कति खसीको निहुँले राँगो खानु ? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो ।
“अन्नपूर्णा, ए अन्नपूर्णा ! लु हेर् त, के ल्याएँ आज ।” अन्नपूर्णा देखा परी । भव्य भएको भग्नावशेषझैं देखा परी ।
रूप थियो होला कहिले, अहिलेचाहिँ त्यसैको सम्झना छ । जे जति छ, यौवन पूर्णतः विगत नभइसकेकाले आकर्षक नै छ । खण्डहरको कुनै एउटा कोठामा बिजुली चम्केझैं ऊ लोग्नेको स्वागतार्थ मिलिक्क हाँसी । उसको डल्लो र पहेँलो अनुहार प्रदीप्त भयो । लोग्नेले देखेन ।
उसले देखी— लोग्नेको दाहिने हातको पोलिथिन झोलामा चारवटा काला–काला माछा छन् । अर्को हातको झोलामा के छ कुन्नि !
“किन ल्याउनुभा’को यत्तिका माछा ?” उसले आँखा चिमचिम पार्दै सोधी ।
‘आज भोज गर्ने’ भन्दै उसले अन्नपूर्णाका हातमा माछाको झोला दियो । ‘आज दीपावली गर्ने’ भन्दै अर्को झोलाबाट मैनबत्तीका बन्डल झिकेर टेबुलमाथि राख्यो । अनि त्यही झोलाबाट दुई बोतल घरपालुवा रक्सी झिकेर दराजमा राख्दै ‘आज उत्सव मनाउने’ भन्यो । अनि लगत्तै पछि फर्किएर स्वास्नीका चिमचिम गर्दै गरेका आँखातिर लक्ष्य गर्दै भन्यो, “हैन, सुतेकी थिइस् कि क्या हो?”
“केको सम्साँझै सुत्नु ? तपाईंका सुरुवाल सिउँदै थिएँ ।”
“सुरुवाल ?” उसले एक्कासि हिजोको कुरा सम्झियो ।
हिजो बिहान ऊ तरकारी किन्न जाँदा आफ्नी स्वास्नीभन्दा आकर्षक साहुनी हाँसेकी थिई । ऊ झन् जोडतोडले हाँसेको थियो । साहुनीको हाँसोको गुलियो चाट्दै घर फर्किएर आइपुग्दा अन्नपूर्णा पनि हाँसेकी थिई । अकारण स्वास्नी हाँसेपछि ऊ झस्कियो ।
“के भो? किन हाँसेकी यस्तरी ?” उसले विस्मित हुँदै सोध्यो ।
अन्नपूर्णा आँखा चिमचिम पार्दै झन् जोडतोडले हाँस्न थालेकी थिई, “के मान्छे तपार्इं त, लुगा लगाउँदा विचार त पुर्याउनुपर्छ । एक त उल्टो सुरुवाल लगाउनुभा’छ, त्यसमाथि एउटा खुट्टामा घुँडादेखि काछसम्म साप्रा देखिने गरी उध्रेको छ ।”
त्यस बेला उसलाई साहुनीको हाँसो चकलेट चपाएको जस्तो होइन, खुर्सानी चपाएझैं भएको थियो । हुन पनि ऊ नयाँ संविधानको प्रतीक्षा गर्दागर्दा अनेकौं शंका उपशंकाको ऊहापोहमा परेर त्यस्तो हास्यास्पद स्थितिमा पुगेको थियो । तर, संविधान सकुशल आयो ।
ऊ पनि अहिले वर्तमानमा आएर स्वास्नीलाई भन्छ, “छोड्, के आँखा दुखाइरहेकी ! नयाँ सुरुवाल हालौंला ।” अनि उसको दृष्टि स्वास्नीका लुगाहरूतर्फ गयो । विगत रूपयौवनसम्पन्न स्वास्नी माकुराको जालैजालोले आवृत खण्डहरझैं अगाडि उभिएकी छे । भग्नावशेषको एउटै सग्लो कोठाजस्तो अनुहार पनि धुलाम्मे छ । कतै साजसज्जा छैन । रंगरोगन छैन । शृंगार–सजावट छैन । कहाँसम्म भने झिलिमिली बुट्टे पर्दा पनि छैन । गोर्खालीले वीरतापूर्वक विनाश गरेको तराईको जंगलझैं प्रकृतिवत् उजाड छ । यी कुरा सोचेर उसले केही भन्न आँटेको थियो, अन्नपूर्णाले उछिनी, “सुरुवाल उसै आउँछ कि क्या हो ? अन्तरिम सरकारले सबैलाई सुरुवाल हाल्दिँदैन होला त ! अनि यी यतिका चीजबीज कसरी ल्याउनुभो ?”
“हे—हे—हे, नरिसा । अलिकति उधारो अलिकति सापट गरेँ । नयाँ संविधान आएपछि भोज ख्वाउँछु भनेर साथीहरूलाई भनेको थिएँ । पुर्याउने तँ नै होस् । त्यसै हुनाले त म तँलाई अन्नपूर्णा भन्छु नि !”
साँच्ची नै उसको नाम अन्नपूर्णा होइन । राशिअनुसार उसको नाम डोलकुमारी हो । बोलाउने नाम डल्लो अनुहारले गर्दा डल्ली भइहाल्यो । घर चलाउने कुशलताले गर्दा लोग्नेका लागि ऊ अन्नपूर्णा भई । सरसापट, ऐँचोपैंचो र उधारोपुधारोको कूटनीति गर्न हिँड्दा कति कुदृष्टि र कुवचन भोग्नुपर्छ, कति अवाञ्छित सहानुभूति सहनुपर्छ भन्ने कुरा लोग्नेलाई के थाहा ? जे होस्, आजको दिन उसले लोग्नेलाई कुँड्याउन चाहिन । अतः आँखा चिमचिम पारेर
हाँस्दै भनी, “कतिजना आउने हुन् ?”
“एहे, तँ रिसाएकी छैनस् ? आज खुसीको दिन हो नि ! चारजना आउँछन्, मात्रै चारजना । एक किलो माछा तार्नू अनि एक किलो झोल पार्नू, भातसित खान ।”
“अनि एक किलो ?”
“जम्मा दुई किलो नै त छ ।”
“किलोका किलो लगाएर बोलेकाले सोधेकी ।”
“आज भोज हो नि ! सधैं के पाउका कुरा गर्नु त ? अनि यो भोज तेरै हो, अन्नपूर्णाको भोज ।”
डल्ली अर्थात् डोलकुमारी नाउँ गरेकी अन्नपूर्णाले सोची— कस्तो अबोध लोग्ने हो यो ? मासु होइन कि ल्याउनासाथ जस्ताको त्यस्तै ओइरियो । यो त माछा हो, बनाउँदाओर्दा दुई किलो घटेर डेढ किलोमात्र रहन्छ । तर लोग्नेको मन खिन्न पार्न उसले केही भनिन ।
लोग्ने उल्लसित हुँदै भन्दैछ, “अनि हेर्, अन्नू, आज तेरो यो चासोचाहिँ भएन ।”
उसले स्वास्नीको ठाउँठाउँमा च्यातिएको र टालेको साडी–चोलो देखेर ओरालो लागेको मनले अड्कीअड्की भन्यो, “तीजमा हालेको सारी–चोली झिक् न । जा, पहिले हातमुख धोईवरी लुगा फेरिहाल् । अहिले पाँच बज्यो, छ बजेसम्म साथीहरू आइपुग्छन् । इज्जत त जोगाउनैपर्यो ।”
यतिबेलै सातवर्षे छोरी र पाँचवर्षे छोरो आएर ‘बुबाले माछा ल्याउनुभो । बुबाले माछा ल्याउनुभो’ भन्दै झोलाबाट माछा झिक्न थाले ।
लोग्नेको कुरा सुनेर अन्नपूर्णाले एकपटक पुलुक्क ऊतिर हेरी अनि छोराछोरीका हातबाट माछा खोसेर भान्सातिर लागी ।
ऊ सुसेल्दै लुगा फेर्न थाल्यो ।
छ बज्दा नबज्दै साथीहरू आइपुगे ।
भित्र माछा तारेको गन्ध बाहिरसम्म आइरहेछ ।
छोरी र छोराले मैनबत्ती बालेर झ्याल–झ्यालमा ठड्याइसके ।
भविष्य यिनीहरूकै उज्ज्वल हुने त हो ।
सन्तोष भट्टराईले हात मिलाउँदै भन्यो, “क्या हो मनुवा यो मुसुमुसे गन्ध ?”
ज्ञानुवाकरले हात मिलायो, “यसको साथमा अर्को झोलिलो सुगन्ध पनि होला नि !”
विमल निभाले हात मिलायो, “म त माछाको झोलमात्र खाने ।”
किशोर नेपालले हात मिलायो, “उसो भए जनआन्दोलनको चोक्टाजति मेरै भागमा परोस् ।”
चारैजना उत्फुल्ल भएर हाँसे । उसले अलि व्यथित स्वरमा हाँसो नियन्त्रित गर्दै भन्यो, “आज कुमुद देवकोटा भइदिएको भए, कति रमाइलो हुने थियो । तर त्यो पनि मान्छे त मनमोजी हो, मन लाग्यो हिँडिदियो । हुन त आउँदा पनि कसैसित सोधेर आएको थिएन ।”
सबै बैठक भनाउँदो बैठकमा बसे । अर्थात्, सुकुलमाथि दरी, दरीमाथि तन्ना र तन्नामाथि चकटीमा सबै बसे ।
साथीहरू आइपुगेको थाहा पाएर अन्नपूर्णा पनि बैठकमा आई र आँखा चिमचिम पारेर हाँस्दै सबैलाई नमस्कार गरी । सबैले ‘अहो, भाउजू त मोटाउनुभएछ’ भने । उसले पनि डोलकुमारी नामक डल्लीलाई मोटाएको देख्यो । ‘राम्री’ भन्न नसकेर मोटाएको भन्ने मित्रहरूको आशयलाई हृदयंगम गरी उसले स्वास्नीलाई राम्री पनि देख्यो । हुन पनि स्वास्नीलाई मित्रहरूको दृष्टिबाट हेर्दा नै राम्री देखिन्छे । यसर्थ मित्रहरूको यो गुन प्रत्येक लोग्नेले मान्नुपर्छ ।
थालभरि तारेको माछा आइपुग्यो । उसले दराजबाट बोतल र गिलास झिक्यो ।
तारेको माछासित रक्सी चल्न थाल्यो । एकछिन यो कुरामा गलबदी भयो– जनआन्दोलनताक सहिदहरूले रगत बगाएर ल्याएको बहुदलीय व्यवस्था र संविधानलाई हामीले रक्सी बगाएर स्वागत गर्न हुन्छ कि हुँदैन ? यस गलबदी अनन्तः नै दुईदुई पेग रित्तिइसक्या हुनाले यो समस्या नेपालीत्वपूर्ण ढंगले समाधान भयो ।
अब राजनीति चल्न थाल्यो ।
“प्रजातन्त्र भनेको …।”
“हैन, के अब हामी अझै पनि प्रजा नै छौं र ? कि लोकतन्त्र भन, कि जनतन्त्र … ।”
“नयाँ जनवाद भनेको …।”
नयाँ जनवाद हैन क्या, नौलो जनवाद … ।”
“मार्क्सवाद मरिसक्यो … ।”
“दर्शन मर्दैन । मानव चिन्तनको शृंखला … ।”
“ए बाबा, मरेको हात्ती पनि सवा लाखको हुन्छ …।”
“सामन्ती संस्कार बोकेका पनि प्रजातन्त्रवादी … ।”
“सामन्तीसमेत प्रजातन्त्रवादी … ।”
“माछा पाऊँ न भाउजू, साह्रै मीठो …।”
“ग्राम्स्सीले भनेका थिए कि … ।”
“बर्नस्टिनले भनेका थिए … ।”
“ज्याँ फ्रास्वाँ रेवलको नो जिसस नो मार्क्स … ।”
“करपात्रीको रामराज्य र मार्क्सवादले … ।”
“युरो कम्युनिजम कता गयो … ।”
“पानइस्लामिक अर्गनाइजेसन … ।”
“आहा, माछा क्या मीठो ! थपौं अरू भाउजू … ।”
“ल, सन्तोष भट्टराई अब भटभटाउन थाल्यो … ।”
“ज्ञानुवाकर त पूरै जनीवाकर देखिन … । ”
“आफू नि आफू … ।”
“लौ, विमल निभा त माछाको झोलमै निभ्न थाल्यो … ।”
“यो किशोर झुत्रे सम्पादक कसरी … ।”
“जा~~, छोडौं यो कुरा … ।”
“सहिदहरूको रगत … ।”
“रक्सी थप् न यार, छैन भने … ।”
“भाउजू, माछा … ।”
छोरा र छोरी दुवै ढोकाका दुई छेउमा उभिएर भविष्यझैं बैठकभित्र हेर्दै छन्— हातमा लिएको माछा खान पनि बिर्सिएर । उसले यिनीहरूलाई टाउकोमात्र दिनू भनेको हुनाले उनीहरूका हातमा एक–एकवटा माछाको टाउको छ ।
राजनीति अझै चल्दैछ । तेस्रो बोतल अन्नपूर्णाको सौजन्यबाट आइपुग्यो ।
“चुनाउ मिलेरै लड्नुपर्छ … ।”
“भोट माग्दा खुसुक्क आफूलाई मात्र … ।”
“तिमी कसलाई दिन्छौ ?” ज्ञानु ।
“तिमी कसलाई दिन्छौ ?” सन्तोष ।
“तिमी कसलाई दिन्छौ ?” विमल ।
“तिमी कसलाई दिन्छौ ?” किशोर ।
“तिमी कसलाई दिन्छौ ?” ऊ ।
“तपाईं कसलाई भोट दिनुहुन्छ भाउजू ?” उसलाई छोडेर मित्र समुच्चय ।
“जता बाबुहरूले भन्नुहुन्छ ।”
“हाम्रै कुरा नमिलेर त भाउजूलाई सोधेको । अब यो संविधानले नारीलाई पूरापूर हक दिएको छ । प्रत्येक पार्टीले पाँच प्रतिशत महिला सदस्य राख्नैपर्छ ।”
“बाबुहरूलाई अब खाना ल्याऊँ क्यारे ।”
अन्नपूर्णा फरक्क फर्केर गई । अन्नपूर्णाले के भन्ली भन्ने उसको उत्सुकता सेलाएर गयो । घर धान्ने अन्नपूर्णाले बडो विचित्र प्रकारले यो समस्या समाधान गरी । सबै स्वास्नीहरू यस्तै हुन्छन् क्यारे—मतभेदमा आफ्नो मन्तव्य दिन कुशलतापूर्वक तर्किने ।
आफ्नो कुनै चेतना, चिन्तन र मन्तव्य नहुनु त मनुष्य नहुनुसरह हो । के स्वास्नी हुनु अमानवीय हो?
तर स्वास्नीमान्छेहरूमा लोग्नेमान्छेझैं नै विधिवता हुन्छ । अनि किन स्वास्नीमान्छेलाई स्वास्नी बनाएर अमानवीय र निष्ठुरी बनाइँदैछ? सोध रामालाई !
मैनबत्तीहरू निभिसकेछन् । बिजुलीको झालर झुन्ड्याएको भए पो बलिराख्थ्यो । सके घिउको दियो रातभरि बाल्न सके पनि हुन्थ्यो । सके ।
खाना आयो । अन्नपूर्णाले अतिथिपरायणताको गृहिणीसुलभ उमंगसाथ थपीथपी सबैलाई माछा–भात खुवाई ।
खाँदाखाँदै एक्कासि सन्तोष चिच्यायो, “गुराँस ! गुराँस ! गुराँस !””के भो ? के भो ?”
“ए, माछाको काँडा गलामा अड्कियो ? गुराँस भनेर जाँदैन । छोड् यो रुढिवादी तरिका, निस्तो भातको डल्लो निल् ।”
भोजनोपरान्त देश र समाजको उज्ज्वल र सुखद भविष्यको कामना गर्दै सबै बिदा हुन थाले ।
सन्तोष भट्टराईले काँडा निलेको खुसीमा हात मिलायो । ज्ञानुवाकर पौडेलले अन्नपूर्णातिर हेर्दै ‘खण्डहर नयाँ–नयाँ’ गुनगुनाउँदै हात मिलायो । विमल निभाले निभ्दै–बल्दै हात मिलायो । किशोर नेपाल उर्फ झुत्रेले टाईको नट कस्दै हात मिलायो । अन्ततः सबैले अन्नपूर्णा भाउजूलाई आफ्नो मत आफूसँगै सुरक्षित राख्ने सल्लाह दिए । ऊ फिस्स हाँसी ।
सबै गएपछि उसले बाँकी रहेको रक्सी आफ्नो गिलासमा हाल्यो ।
“अझै खाने ?”
“अलिकति । केटाकेटीहरू सुते ?”
“सुते ।”
“अब तँ खा ।”
जुठा भाँडा बटुलेर अन्नपूर्णा भान्सातिर हिँडी । ऊ रक्सी खान थाल्यो । खाँदै सोच्न थाल्यो— घरेलु बजेट सन्तुलन कसरी मिलाउने ? गुजमुजिएको गोली–धागोझैं यता तान्यो, उता अल्झिने, उता तान्यो यता अल्झिने । मातमा उसको सोचाइ लरखराउँदै छ । जता जान्छ उतै अल्झिन्छ । झर्केर उसले सोच्न बन्द गर्यो । अन्नपूर्णा घरमा छँदाछँदै किन मगज दुखाउनु, यै आत्म–आश्वासनका साथ ऊ पिसाब फेर्न उठ्यो ।
सुत्ने कोठानेर पुग्दा देख्यो— छोराछोरी सुतिसकेका रहेछन् । तर, भान्सानेर पुग्दा उसले अन्नपूर्णालाई देखेर पिसाब फेर्न बिर्सियो । डल्ली अर्थात् डोलकुमारी नाउँ गरेकी अन्नपूर्णा जुठा भाँडाहरूमध्ये पिर्कामा बसेर अघिल्तिरको रिकापीबाट एक मुठी फुको चिउरा निबुवाको पुरानो अचारसित बुक्याउँदै रहिछे । फुको चिउरा र अमिलो अचारले कुँडिएका दाँत पखाल्न रिकापीछेउ एक अम्खोरा पानी छ । परेला ढल्काएर चिउरा चपाइराखेकी हुनाले अन्नपूर्णाले उसलाई देखिन । उसले भान्साभित्रको यो दृश्य हेर्न नसकेर बाहिरतिर हेर्न थाल्यो । सम्पूर्ण सहर–बजार नयाँ संविधान आएको उत्सवमा झिलिमिली थियो । उसले मन थाम्न नसकेर फेरि भित्र हेर्यो । टोलाएर हेर्दै रह्यो । अन्नपूर्णाले मुखको स्वाद फेर्न जसै माछा पकाएको कराहीको बिटमा जमेको फिँज चाटी, उसको मगजमा काँडाझैं एउटा प्रश्न आएर रोपियो— के स्वास्नीहरूको मत सुरक्षित छ ?