जर्ज ओर्वेल:
अनुवादः महेश पौड्याल
कुरा बर्माको हो । बिहानको समय थियो, बर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो परतजस्तो देखिन्थ्यो । हामी त्यस श्रापित कालकोठरीका बाहिर प्रतीक्षारत थियौँ । दुई लहर बार लगाएका कोठरीबाहिर लहरै खडा भएका थिए केही झुपडीहरू, जनावर राख्ने साना पिँजडाजस्तै । प्रत्येक कोठरीको लम्बाइ दस फिट र चौढाइ दस फिटजति थियो, र भित्रपटि एउटा तख्ताको खाट र पिउने पानीको एक पात्रबाहेक अरु केही पनि थिएन । तीमध्ये केहीभित्र फुस्रा मानिसहरू टुक्रुक्क परेर शान्त बसेका देखिन्थे भित्री बारभित्र, जिउभरि कम्बल ओढेर । यी ती अभियुक्तहरू थिए, जो आगामि एक वा दुई हप्ताभित्र दिइने भनिएको फाँसी पर्खिरहेका थिए ।
एउटा कैदीलाई भने कोठरीबाहिर ल्याइएको थियो । ऊ हिन्दु थियो, सुकेर निकै लुरो भइसकेको — कपाल खौरिइएको, र आँखा, तरल तरल, र अस्पष्ट लाग्ने । जुँगा भने निकै बाक्ला आएका थिए, उसको ख्याउटे जिउलाई सुहाउनेभन्दा निकै नै मोटा— हास्य चलचित्रको कुनै पात्रका ओठमाथिका जस्ता । छ जना अग्ला भारतीय सुरक्षाकर्मीले उसलाई घेराबन्दी गरेका थिए र झुण्डाउनका लागि तयारी गरिरहेका थिए । तीमध्ये दुई जना आफ्ना राइफल र सङ्गीन तयार पारेर बसेका थिए, जबकि, अन्य केही भने उसका हातमा हतकडी लगाउन, हतकडीबाट फलामको साङ्ली घुसार्न र त्यसलाई उसको पेटीमा लगेर सिउरिन र उसका पाखुरालाई दाहिनेतिर लगेर कडासँग बाँध्नमा व्यस्त थिए । उनीहरू उसको अत्यन्तै नजिक थिए, उनीहरूका हात लगभग उसको टाउकोमाथि नै । बडो सचेताले भरिएको, कडा सुम्सुम्याइ थियो उनीहरूको उसमाथि— मानौँ, घरिघरि उनीहरू उसलाई छामेर यो सुनिश्चित गर्न खोजीरहेका थिए, कि ऊ त्यहीँ छ । लाग्थ्यो, ऊ जिउँदो माछो हो, र ती सुरक्षाकर्मीहरू त्यो माछो पुनः पानीमै जान्छ कि भनेर निगरानी गरिरहेका थिए । तर ऊ भने बिना कुनै प्रतिवाद उभिइरहेको थियो, र उसलाई बाँध्न प्रयोग हुँदै गरेका रसीका अगाडि आत्मसमर्पण गर्दै गइरहेको थियो । लाग्थ्यो, उसलाई त्यहाँ के भैरहेको छ भन्ने कुराको पत्तै छैन ।
आठ बजेको घण्टी बज्यो । र सँगै बज्यो बिगुल, जसको ध्वनि त्यहाँको विरान, पातलो र भिजेको वातावरणमा टाढाका ब्यारेकहरूबाट बग्दै आएको सुनियो । कारागारका अधिक्षक, जो हामीहरूबाट अलि पर, अलग्गै उभिएका थिए र आफ्नो लाठीले भैँका रोडा पन्छाइरहेका थिए, यो आवाज सुनेपछि टाउको उठाउन पुगे । उनी सैनिक चिकित्सक थिए, दाँत माझ्ने ब्रसजस्ता पातला जुँघा र खस्रो बोली भएका । ‘भगवानका नाममा अलि छिटो गर फ्रान्सिस्,’ उनले बढो खस्रो आवाजमा भने । ‘यो मान्छे यो बेलासम्ममा मरिसक्नुपर्ने हो । तिमीले अहिलेसम्म तयारी गरिसकेका छैनौ?’
फ्रान्सिस, त्यहाँका प्रमुख जेलर, निकै मोटाघाटा द्रविड थिए । सेतो, व्यायाम पोषाकमा र सुनौलो रङ्गको फ्रेम भएको चस्मा लगाएका उनले हात हल्लाए, र भने, ‘हुहुहुन्छ, साब । हुन्छ ।’ उनले भक्भकाउँदै भने, ‘स्सबै तयारी सकियो साब । जजजल्लादले पर्खिरहेको छ । अब हामी त्यत्यत्यैतिर जानेछौँ ।’
‘उसो भए ठिक छ, अगाडि बढ । यो काम फत्ते नगरी अन्य कैदीलाई नास्ता पनि दिनु हुँदैन ।’
हामी फाँसीको तख्तातिर लाग्यौँ । कैदीका दुवैतिर दुई जना सुरक्षा कर्मी दायाँबायाँ पारेर हिँडे, राइफल भैँतिर छड्के पारेर । अन्य दुई जना ऊसँगै हिँडे, उसलाई हात र पाखुरामा बलियो गरी समातेर, एकैचोटि उसलाई धकेल्दै पनि, थाम्दै पनि गरेजस्तो । हामीहरू, न्यायधीष र अन्य, पछिपछि लाग्यौँ । हामी दस यार्डजति पुगिसकेपछि एक्कासि हाम्रो लश्कर रोकियो, बिना कुनै आदेश वा चेतावनी । ओह, एउटा भयानक घटना घटेको रहेछ— हाम्रा अघिल्तिर खै कताबाट हो, एउटा अजङ्गको कुकुर टुप्लुक्किएको रहेछ । त्यो कुकुर चर्को स्वरमा भुक्दै हामीतिरै जाइलाग्यो, र हाम्रा नजिकै आफ्नो सम्पूर्ण जिउ हल्लाउँदै उफ्रन थाल्यो । लाग्थ्यो, एकैचोटि यति धेरै मान्छे देख्दा ऊ निकै खुसी र उत्साहित भएको थियो । ऊ आधा एयरडेल र आधा पाह्रिया जातको कुकुर थियो, लामा रौँ भएको, ठुलो जातको । केही बेर हामी सबैलाई हेर्यो उसले, अनि कसैले रोक्न नपाउँदै अभियुक्ततिर लस्कियो, र उफ्रेर उसको मुख चाट्न खोज्यो । सबै चकित परेर उभिइरहे । कसैलाई त्यस कुकुरलाई धपाउने सुद्धिसम्म सुझेन ।
‘हैन कसले त्यस नर्केलाई यतातिर लस्किन दिएछ ?’ अधिक्षकले आक्रोषपूर्ण स्वरमा भने । ‘कसैले त समाओ त्यसलाई ।’
सुरक्षा घेराबाट एकजना सुरक्षाकर्मी दुगुर्यो त्यस कुकुरतिर, तर कुकर उफ्रियो, नाच्यो र त्यसको निशानाबाट फुत्कियो । लाग्थ्यो, ऊ त्यहाँको सम्पूर्ण व्यवस्थालाई एउटा खेलको रुपमा लिइरहेको छ । युरेसियाका एकजना जवान जेलरले एक अँजुली रोडा उठाए र कुकुरलाई रोडाले हानेर खेदाउने चेष्टा गरे, तर ती प्रहारहरूलाई परास्त गर्दै त्यो कुकुर हामीहरूतिरै झनझन लस्कियो । यसको भुकाइ कारागारका भित्ताहरू छेडेर बाहिर निस्कियो । दुई सुरक्षाकर्मीको पहराभित्र रहेको कैदीले भने यी सबे कुरालाई बिना कुनै चासो हेरिरह्यो, मानौ ऊ सोचिरहेको हुँदो हो, यो पनि झुण्ड्याइने प्रक्रियाको एक औपचारिक पाटो हो । कसैले त्यस कुकुरलाई समाउनुभन्दा अगाडि धेरै मिनटसम्म यही प्रक्रिया भैरह्यो । त्यसलाई समाएपछि मेरो रुमाल त्यसको घाँटीमा घुसार्यौँ र तानेर बाहिरतिर लघार्यौँ । यती गर्दासम्म पनि त्यो कुकुरै काइँकाइँ कुइँकुइँ गरि नै रह्यो ।
अब फाँसीको तख्ता पुग्न त्यही चालिस यार्डजति हुँदो हो । मैले मेरो अगाडि हिँडिरहेको कैदीको डँडाल्नो हेरेँ – नाङ्गो, र फुस्रो । बाँधिएको हात लिएर ऊ निकै आलस्यका साथ हिँडिरहेको थियो, तर बढो स्थिरताका साथ — आफ्ना घुँडा कहिल्यै सीधा नपार्ने एक भारतीयको हिँडाइजस्तो । उसका हरेक पाइलासँगै उसका मांसपेसीहरू आफ्नो ठाउँबाट चिप्लेजस्ता देखिन्थे, यसका लटा तल र माथि गरेर हल्लिन्थे, र उसका पैतालाले तल गिट्टीमा गहिरा छापहरू छोड्दथे ।
एक पल्ट के भयो, छेउबाट दुई जनाले उसलाई दह्रोगरी समातेको भए तापनि ऊ बाटोमा देखापरेको खाल्डोबाट जोगिन केही कदम छेउतिर हट्यो ।
चाखलाग्दो त यो विषय थियो नै, तर त्यो घडीसम्म मलाई लागेकै थिएन, एक स्वस्थ र चेतनशील मान्छेलाई समाप्त गरिनु भनेको कत्तिको गम्भीर कुरा हो । जब खाडलबाट बँच्न त्यो कैदी अलिकति छेउतिर उफ्रियो, मलाई त्यस रहस्यको बोध भएर आयो—त्यो भन्न नमिल्ने अपराधको बोध—आफ्नो पूर्ण तरङ्गमा हेलिँदै गरेको जीवनलाई अनायसै सिध्याउने कुरको अपराधबोध । यो कैदी मरिरहेको थिएन । ऊ बाँचेको थियो, बाँच्नुको सही अर्थमा जीवित थियो । उसको शरीरका सबै अङ्ग सकुशल काम गरिरहेका थिए — पेटको पाचन प्रक्रिया सामान्य, छाला आफैँ नवीकृति भइरहेको, नङ बढिरहका, र तन्तुहरू बन्दै नवीकृत भइरहेका । यी सबै सबै प्रक्रियाहरू यहाँ एक्कासि, एक विषद पागलपनका कारण समाप्त हुन गइरहेका थिए ।
उसका नङ बढि नै रहेका हुनेछन्, जब उसलाई तख्तामा उभ्याइने छ, र तख्ताबाट, एक सेकेण्डको दस भागभन्दा पनि कम समय जतिको जिन्दगी बोकेर उसलाई हावामा झुण्ड्याइनेछ । उसका आँखाले पहेँला गिट्टीहरू र खैरा भित्ताहरू देखे । उसको मस्तिष्कले अरुलेजस्तै सम्झ्यो, आकलन गर्यो, अर्थ लगायो— यहाँसम्म कि बाटोको त्यस खोपिल्टोको बारेमासम्म सोच्यो । ऊ, हामीहरू सबै, त्यहाँ हिँडिरहेका मानिसहरूको समूहका सदस्य थियौँ — एउटै संसारलाई देख्ने, सुन्ने, अनुभूत गर्ने र बुझ्ने । र दुई मिनेटपछि, एक झट्काका साथ हामीमध्येको एउटा सदस्य गुम्नेछ र संसारबाट एउटा मन, एउटा अर्को सानो संसार हराउनेछ ।
फाँसीको तख्ता एउटा सानो खुला ठाउँमा थियो — कारागारको मूल मैदानभन्दा केही पर, निकै अग्ला र काँडादार झारहरूले पुरिएको ठाउँमा । इँटा उठाएर बनाइएको ठाउँ — एउटा झुपडीको तीन तिरका भित्ताजस्तो देखिन्थ्यो । भित्तामाथि काठका फल्याक राखिएका थिए, जसमाथि दुई खाँबा ठड्याएका र एउटा तेर्सो पारेर राखिएको थियो । तेर्सो खाँबोमा फाँसीको रस्सी झुण्ड्याएको थियो । जल्लाद, कपाल सेतै फुलेको अर्को अभियुक्त, कारागारका सेता पोसाक लगाएर तयारी अवस्थामा उभिएको थियो । हामीलाई देखेर ऊ दासत्वको भावसँग झुक्यो र आभिवादन गर्यो । फ्रान्सिसबाट आदेश पाउनासाथ दुई सुरक्षाकर्मीले अभियुक्तलाई अघिभन्दा निकै कडा रुपमा समाते र आधा घँचेट्दै, आधा तान्दै तख्ताको भर्याङ्बाट निकै गाह्रो गरी माथि चढाए । जल्लाद माथि चढ्यो र मिलाएर डोरीलाई अभियुक्तको घाँटीमा घुसार्यो ।
हामी पाँच यार्डजति पर पर्खिरह्यौँ । सुरक्षाकर्मीहरूले तख्ताको नजिकै एक गोलाकार बनाए, र उभिए । जब रस्सीको सुर्काउने ठाउँलाई घाँटीमा तयार गरियो, अभियुक्त भगवानको नाम लिँदै कराउन थाल्यो, ‘राम, राम, राम, राम ।’ त्यो आवाज निकै उँचो, र पुनरावृत्त भइरहने किसिमको थियो, तर कुनै अत्यासपूर्ण वा डरको आवाज, वा प्रार्थना अथवा सहयोगको याचनाजस्तो भने थिएन । बरु त्यो स्थीर र लयबद्ध थियो, घण्टीको आवाजजस्तो ।
कुकुर त्यस आवाजको प्रतिक्रियामा केही चुइँकियो । तख्तामै उभिइरहेको जल्लादले आँटाको झोलाजस्तो कपासको एउटा सानो झोला निकाल्यो, र अभियुक्तको टाउको ढाक्नेगरी छिरायो । तर अभियुक्तको आवाज त्यस झोलालाई चिरेर बाहिर आइ नै रह्यो, ‘राम, राम, राम, राम!’
जल्लाद भैँमा उत्रियो, र हात लिभरमा राखेर तयारी अवस्थामा उभियो । समय निकै धिमा गतिमा व्यतित भएजस्तो लाग्यो । अभियुक्तको मुख छोपेको लुगाबाट उसको आवाज निरत्नर आइरह्यो, ‘राम, राम, राम, राम ।’ ऊ एक क्षणका लागि पनि रोकिएको थिएन । अधिक्षक भने आफ्नो सिर आफ्नै छातीमा झुकाई लौरोले जमिनका गिट्टी कोट्याइरहेको थियो । सायद ऊ अभियुक्तको रोदन गनिरहेको थियो, मानौ उसले अभियुक्तलाई एक निश्चित सङ्ख्या सम्म — पचास, वा सय पल्ट — रुने अनुमति दिएको छ । सबैको रङ् फेरिएको थियो ।
भारतीयहरू सबै बिग्रिएको कफीजस्ता फुस्रा भएका थिए । एक दुई सङ्गीनहरू त बाङिगइसकेका पनि थिए । हामीले तख्तामाथि चढाइको त्यस अभियुक्तलाई हेर्यो र उसको रोदनलाई सुन्यौ । प्रत्येक रोदन उसको जीवनको अर्को अन्तिम पलतिरको यात्रा । हो, हामी सबैका मनमा त्यसबेला यही विचार थियो — बस्, छिटो सकियोस् यो प्रहसन; छिटो सिद्ध्याइयोस् उसलाई, र समाप्त गरियोस त्यो घिनलाग्दो आवाज ।
एक्कसि, अधिक्षकले आफ्नो मन बनाइसकेको थाहा पाइयो । टाउको उँभो पारेर उनले आफ्नो लौरो एक तीब्र गतिमा हल्लाए र कडा स्वरमा आदेश दिए, ‘चलो!’
‘खत्रक’ गरेको आवाज सुनियो । त्यसपछि मूर्दाशान्ति । अभियुक्तको इहलीला सकिएको थियो; उसका घाँटीको डोरी आफैँमा बाङ्गिएको थियो । मैले कुकुरलाई छोडिदिएँ । ऊ कुदेर तख्ताको माथि उक्लियो, तर त्यहाँ पुग्नासाथ एक्कासि रोक्कियो, भुक्यो एकपल्ट र त्यस चौरको एक कुनातिर फर्कियो, र झारहरूको बीचमा उभिएर हामीलाई केही डराएको दृष्टिले हेर्न थाल्यो । हामी तख्ताको नजिक गयौँ र अभियुक्तको शरीरलाई निरीषण गर्न थाल्यौँ । ऊ आफ्ना खुट्टाका औँला भैँतिर फर्काएर झुण्डिइरहेको थियो । ती खुट्टा मन्द गतिमा घुमिरहेका थिए, पत्थरजस्तै मृत र गतिहीन ।
अधिक्षकले आफ्नो लौरोले नाङ्गो शरीरलाई एसो घोचे । शरीर यताउति हल्लियो, अलिअलि । ‘ल, ठीक छ,’ उनले भने । उनी तख्ताको मुनिबाट पछितिर आए, र गहिरो स्वाँस फेरे । उनको अनुहारबाट विषद दृष्टि एक्कासि हटिसकेको थियो । उनले आफ्नो हातको घडी हेरे । ‘आठ बजेर आठ मिनेट गएछ । भगवान, आज बिहानको काम पूरा भयो ।’
सुरक्षाकर्मीहरूले आफ्ना सङ्गीनहरू निशानाबाट हटाए, र त्यहाँबाट हिँडे । कुकुर, आफूले अगि उत्ताउलो व्यवहार गरेकोमा ग्लानिको भाव लिएर उनीहरूको पछिपछि लाग्यो । हामी त्यस फाँसीस्थलबाट बाहिर कारागारको अर्को ठूलो हलतिर लाग्यो, श्रापित कालकोठरी र तिनीहरूभित्र बन्द कैदीहरूकै छेउको बाटो भएर । अभियुक्तहरू, लाठीहरूले लैस सुरक्षाकर्मीको आदेशमा नास्ता खाइरहेका थिए । उनीहरू लामा लाइनमा टुक्रुक्क बसिरहेका थिए । प्रत्येकका हातमा जस्ताको पात्र थियो, र दुई जना सुरक्षाकर्मीहरू बाल्टीबाट भात बाँड्दै हिडिरहेका थिए । लाग्थ्यो, फाँसीपछि सबैजना एउटा निकै आत्मीय र उल्लासमय वातावरणमा रामाइलो गरिरहेका छन् । हामी सबैजनामा काम सम्पन्न भएपछिको एउटा ठूलो राहतको अनुभूति भइरहेको थियो । सबैलाई गाऔँ गाऔँ, कुदौँ कुदौ वा हाँसौ हाँसो लागेको थियो । एकैचोटि, सबैजना एकआपसमा रमाइलोसँग गफगाफ गर्न थाले ।
मेरो छेवैबाट हिडिरहेको एउटा युरेसियाली केटो हामी हिडेतिरै आयो र भन्यो, ‘थाह छ सर्, त्यो हाम्रो साथी (उसको अर्थ, त्यही प्राणदण्ड पाएको कैदी) ले उसको पुनरावेदन रद्द भएको थाह पाएपछि उसको कोठरीको भुइँमै सुसु गरेको थियो । डरले । इ, लिनुस् न, सिग्रेट । मेरो यो सूर्ति राख्ने चाँदीको बाकस तपाईलाई मन परेन? मैले दुई रुपियाँ आठ आनामा किनेको, बाकसवालासँग । युरोपेली शैलीको छ, गज्जबको ।’
सबै हाँसिरेका थिए, तर कसैलाई थाह थिएन, हाँसोको विषय के हो ।
फ्रान्सिस भने अधिक्षककै छेउ हिँडिरहेको थियो, निकै चर्को स्वरमा कुरा गर्दै । ‘स्सर, सबै कुरा ठीकठाक ढङ्गबाट सससम्पन्न भयो । ससबै कुरा सकियो । अब ढुक्क! सससधैँ यस्तो कहाँ हुन्छ र? अहँ, हुँदैन । मैले कति घघघटना देखेको छु – डाक्टरले तततख्तामुनि गएर, टाँगमुनि चिहाएर कैदी मरे नमरेको सुसुसुनिश्चित गरेको । छ्या, कस्तो अवस्था त्यो त!’
‘ज्यान फनफनी घुमाउने? छ्या, त्यो नराम्रो कुरा हो,’ अधिक्षकले भने ।
‘स्ससर, तिनीहरू जिद्दी भए भने झनै नराम्रो । एउटा मान्छे त कस्तो थियो — हामी उसलाई लिन जाँदा झ्यालखानाको छडीमा टाँस्सिएको । तपाई पत्यानुहुन्न होला, त्यसलाई निकाल्न छ जना सुराक्षाकर्मी लागे, प्रत्येक खुट्टा तान्न तीन–तीन जना । हामीले त उसँग तर्कै गर्नुपर्यो । हामीले भन्यौँ, ‘दाइ, तिमीले हामीलाई दिएको सबै दुःख सम्झ त ।’ तर, उसले सुन्ने भा पो? अहो, सारै जब्बर मान्छे हो!’
मैले आफैँलाई पनि निकै जोडसँग हाँस्दै गरेको पाएँ । हुन त सबै जना हाँसिरहेकै थिए । यहाँसम्म कि अधिक्षक स्वयं पनि मन्द मुस्कानमै थिए । ‘तपाईहरू सबै बाहिर आएर केही पिउनुहोस्,’ उनले भद्रतापूर्वक भने । ‘मेरो कारमा एक बोतल ह्विस्की छ । त्यसैले पुगिहाल्ला ।’
हामी कारागारको ठुलो जोरढोका भएको प्रवेशद्वारबाट बाहिर सडकमा निस्कियौँ ।
एक जना बर्मेली न्यायधीषले अप्रसङ्ग भने, ‘माने, कुरामा कुरा नि,’ र जोरजोरसँग हाँस्न थाले । हामी सबै उनीसँगै हाँस्न थाल्यौँ । त्यसबेला फ्रान्सिसले सुनाएको किस्साचाहिँ साह्रै नै हासउठ्दो लाग्यो । हामी सबै — स्थानीय र युरोपेली मिलेर — बढो सौहार्दपूर्ण वातावरणमा रक्सी खायौँ ।
मृत कैदी हामीबाट त्यही एक सय यार्ड जति परमात्र थियो ।
(बेलाइती लेखक जर्ज ओर्वेल (एरिक आर्थर ब्लेयर) ले उपन्यास, निबन्ध र समालोचना लेखेका छन् । बेलायती शासनकालमा उनले भारत र बर्मामा प्रहरी अफिसरका रुपमा काम गरे । उनको लेखन सरस, जसमा सामाजिक विभेदको टट्कारो बोध र सर्वसत्तावादको खरो विरोध छ । उनले खुलेरै प्रजतान्त्रिक समाजवादको वकालत गरेका छन् । बेलायती भएर पनि साम्राज्यवादको खुलेरै विरोध गर्ने थोरै लेखकहरूमध्ये एक हुन्, ओर्वेल ।
ओर्वेलको ख्याति उनको प्रसिद्ध उपन्यास एनिमल फार्म मा टिकेछ छ भने, उनका अन्य पुस्तकमा उनले उत्तरी बेलायतको एक मध्यमवर्गीय परिवारमा बिताएका संस्मरण बोकेको ‘द रोड टु विगान पायर’ (निबन्ध १९३७) तथा स्पेनको गृहयुद्धमा उनले भोगेको यथार्थ समेटेको ‘होमेज टु कटालोनिया’ (१९३८ संस्मरण) प्रमुख हुन् । २००८ मा ‘द टाइम्स’ म्यागजिनले उनलाई १९४५ पछिका पचास महानतम् बेलायती लेखकको दोस्रो स्थानमा सूचीकृत गर्यो ।
प्रस्तुत कथामा बर्मामा अङ्ग्रेजले एक स्थानीय बर्मेली कैदीलाई दिएको मृत्युदण्डलाई विषयवस्तु बनाएर बेलायती शासनको क्रूर दृष्टिमाथि कटाक्ष गरिएको छ । आफ्नो स्वतन्त्रता मागेकै कारण कसैलाई झुण्ड्याइएको घटनामा आधारित यो कथा निकै मार्मिक छ ।)