काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलका कार्यालय परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन् ।
उनले भने-“नेपाली कांग्रेसका सभापति आदरणीय शेर बहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुन्छ भन्ने त्यो अडानमा हाी छौं । हामीसँग बहुमत छ । त्यसर्थ आउँदो दिनमा शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुन्छ ।’
विपक्षी गठबन्धका सांसदहरु प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् । उनीहरु सम्भव भए आजै नभए भोलिसम्म अदालत जाने बुझिएको छ । त्यसको लागि सबै सांसदहरु नागरिकतासहित उपस्थित् भएका हुन् । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनको लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल उपेन्द्र यादव समूह र जनमोर्चाका १४९ जना सांसदले हस्ताक्षर गरेका थिए ।