Logo

भाइरसलाई हल्का ठान्दाको जोखिम



डा. शिवजीविक्रम सिलवालः कोरोना भाइरसको महामारीको लहरको चुनौतीसँग हामी दोस्रो वर्ष पनि लडिरहेका छौं । अहिलेको घडी पक्कै पनि सहज छैन । कठिन घडीमा सचेत र सतर्क हुन निकै जरुरी छ । एक अर्कालाई दोष दिएर उत्तरदायित्वबाट पन्छने बेला होइन । सबै मिलेर, जुटेर र रोगविरुद्ध चाल्नुपर्ने भूमिका र अपनाउनुपर्ने स्वास्थ्य सतर्कताप्रति चनाखो भई जीवनरक्षामा लाग्नुको विकल्प छैन । हामी सबैले आ आफ्नो सामाजिक उत्तरदायित्वका अलावा पद र जिम्मेवारीप्रतिको उत्तरदायित्व मनन गरेर गम्भीरतापूर्वक प्रस्तुत हुनुपर्छ ।

कोरोना भाइरसको दोस्रो लहरमा युवा उमेर समूहका मानिसहरुको ज्यान जानु दुःखद पक्ष हो । हामीले यसको कारण पनि खोज्नुपर्दछ । रोग नलागुञ्जेल केही होइन भन्ने र लागेपछि आत्तिने र हेलचेक्राईं गर्ने प्रवृत्ति उत्तिकै देखिएको छ । रोगबारे ज्ञानको कमी र लागेपछि अपनाउनुपर्ने शतर्कता र खानपानबारे ज्ञानको कमी पनि अर्को गम्भीर विषय हो ।

कोरोना भाइरसले प्रायः दिर्घरोगीहरुलाई आक्रमण गर्दछ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले त्यस्तो भएको हो । दीर्घरोगी युवाहरु बढी सचेत हुनुपर्छ । उनीहरुलाई चाँडो आक्रमण गरेको पाइएको छ ।

युवाको तुलनामा ५५ माथिका मानिसहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । उनीहरुमा आत्मबल पनि तुलनात्मक रुपमा कम हुन्छ । कोभिड लक्षण तथा स्वास्थ्यमा केही परिवर्तन आउना साथ आत्तिने समस्या पनि देखिएको छ । रोगलाई जित्न आत्मबलको उत्तिकै जरुरी पर्छ ।

युवाहरु कोभिड लक्षण तथा स्वास्थ्यमा केही परिवर्तन आईसक्दा पनि बढि हेलचेक्राईँ गर्ने, कोभिडको समयमै उपचार नगराउने, समयमा परामर्श नलिने समस्या देखिएको छ । लक्षण देखिएलगत्तै टेष्ट गर्ने देखि चिकित्सकसँग परामर्श लिएर खानपान र जीवनशैलीमा निकै ध्यान दिनुपर्छ ।

कोभिड लागेको युवाहरु आफूलाई ठिक छ भनी घरमै बस्ने र गाह्रो हुँदा पनि समयमा अस्पताल नजाने देखिएको छ । अस्पताल आइपुग्दा कतिपय विरामीको अक्सिजन लेभल निकै कम भइसकेको हुन्छ । जसका कारण ज्यान जोगाउन निकै मुश्किल परेको प्रशस्त उदाहरणहरु छन् । घरमै आइशोलेशनमा बस्दा पनि चिकित्सकको परामर्श लिएर खानपान, जीवनशैलीमा निकै चनाखो हुनुपर्छ । केही कठिनाई भएमा अस्पताल जानुपर्दछ ।

वृद्धवृद्वाको तुलनामा युवाहरु आइशोलेशन या क्वारेन्टाइनमा बस्दा अक्सिजन लेभल कम हुँदा पनि खासै जटिल नदेखिने तर अचानक अस्पताल पुग्दा सिधै विप्याप, नन इन्भ्यासिभ भेन्टिलेटर तथा भेन्टिलेटरमा राख्नुपर्ने उदाहरणहरु छन् । त्यसैले संक्रमित भएर केही असजिलो हुँदा जर्बजस्ती केही भएको छैन जसरी बस्नुहुँदैन । यसले संक्रमितलाई जोगाउनै कठिन हुने अवस्था बन्न सक्छ ।

तसर्थ, कोरोना भाइरसको जोखिमबाट बच्न र लागेमा पनि स्वास्थ्य सतर्कता अपनाउने निर्देशिका पालना गर्न जरुरी हुन्छ । यो महामारीमा आफू पनि बाँच्ने र अरुलाई पनि बचाउन सतर्कता अपनाउने नै उत्तम विकल्प हो । (डा. सिलवाल मुटुरोग विशेषज्ञ हुन्)



प्रतिक्रिया दिनुहोस्