काठमाडौँ, १४ जेठ: सरकारले स्वास्थ्य सेवाको सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७÷७८ मा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार हुँदै गएको जनाइएको हो ।
आर्थिक सर्वेक्षणमा दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने र स्वास्थ्य संस्थामा गई प्रसूति गराउने गर्भवतीको सङ्ख्या बढ्दै गएको जनाइएको छ । विसं २०७७ फागुनसम्ममा दक्ष प्रसूतिबाट प्रसूति गराउने महिला ७९.३ र स्वास्थ्य सेवामा गई प्रसूति गराउने ७७.७ प्रतिशत छन् ।
यसैगरी नवजात शिशु मृत्युदर, शिशु मृत्युदर, पूर्णरुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशतलगायतका अन्य स्वास्थ्य सूचाङ्कमा सुधार भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । पाँच वर्षमुनिको बालमृत्युदर एक हजारमा २८, नवजात शिशुमृत्युदर एक हजारमा (२८ दिनभित्र) १६, शिशुमृत्युदर प्रतिएक हजारमा (एक वर्षभित्र)मा २५ जना रहेको उल्लेख गरिएको छ ।
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ५४ कोभिड अस्पताल, १२५ कोभिड क्लिनिक र ८४ पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यस्तै २०७७ साल फागुन मसान्तभित्रमा २२ हजार १२७ क्वारेन्टिन श्यया, १३ हजार ७७२ आइसोलेशन श्यया, एक हजार १५४ सघन उपचार कक्ष (आइसियु), ४७५ भेन्टिलेटर र ६७६ हाई डिपेन्डेन्सी युनिट (एचडियु) निर्माण गरेको जनाएको छ ।
यसगैरी २०७७ फागुनसम्ममा सात हजार २२१ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । एकसय २५ अस्पताल, २०५ प्राथमिक स्वास्थ्य केन्द्र, तीन हजार ८७० स्वास्थ्य चौकी, ३९५ आयुर्वेदिक अस्पताल र दुई हजार ६२६ उपस्वास्थ्य चौकी रहेका छन् । विसं २०७६ फागुनसम्म सात हजार १५४ रहेका थिए ।
यस्तै सबै स्थानीय तहका हरेक वडामा एक स्वास्थ्य संस्था राख्ने योजनाअनुसार २०७७ फागुनसम्म दुई हजार ६२६ पुगेको छ । सरकारले आव २०७६÷७७ मा सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाबाट बहिरङ्ग सेवा ८८.७, अन्तरङ्ग सेवा ४.१ र आकस्मिक सेवा ७.२ प्रतिशत बिरामीले लिएका छन् ।
आज जनता सार्वभौम बनेको इतिहासको अविस्मरणीय दिन
प्रधानमन्त्री ओलीले आजको दिनलाई जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमा आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य भई उज्यालो प्राप्त भएको दिनका रुपमा स्मरण गर्नुभयो । उहाँले जनता सार्वभौम बनेको आजको दिन नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भएको उल्लेख गर्नुभयो । उहाँले सारपूर्ण र वास्तविक गणतन्त्रसहितको लोकतन्त्र नै पूर्ण लोकतन्त्र हुने बताउनुभयो ।
उहाँले जनताको अधिकार, सर्वोत्तम हित र आकाङ्क्षाको प्रतिविम्ब संविधानको व्यावहारिक कार्यान्वयनमार्फत जनतामा प्रतिफल पु¥याउनमा सरकार दत्तचित्त रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले विकासका लागि सामाजिक र भौतिक पूर्वाधार निर्माण गरी समृद्ध नेपाल, सुखी नेपालीको आधार निर्माणमा मुलुक अग्रसर भएको स्पष्ट पार्नुभयो ।
उहाँले जनताको जीवनमा परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अघि बढाइएको बताउनुभयो । गणतन्त्रमा स्वस्थ बहस, मर्यादित छलफल र असहमतिबीच निर्बाध अभिव्यक्तिको प्रत्याभूति हुने र यसका लागि आचरण, व्यवहार तथा विचारका हिसाबले उन्नत, परिष्कृत, पारदर्शी, सहभागितामूलक र स्वार्थरहित व्यवहार अपरिहार्य रहने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले गणतन्त्रपछिको अवधिमा चेतनाको संस्थागत विकाससँगै ‘विकास र समृद्धि’का सपनाले साकार रुप लिन थालेको बताउनुभयो । उहाँले मुलुकमा अस्थिरतालाई चिर्दै आर्थिक र सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जिकिर लिनुभयो । आर्थिक वृद्धिदरमा प्रगति हुनु, निरपेक्ष गरिबीमा कमी हुनु, शान्ति, सुशासन र सेवा प्रवाहमा सुधार, भूकम्पपछिको पुनर्निर्माणले सार्थकता पाउनु र विश्वव्यापी परिसूचकमा उल्लेख्य सुधार हुनुले मुलुक सही दिशातर्फ अघि बढिरहेको छ भन्नेमा प्रस्ट रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।-रासस/File Photo