Logo

नेपालमा कोरोना सङ्क्रमण र मृत्युदर घट्दै



काठमाडौँ, १६ जेठ: पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ ।

यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने २१४ रहेको थियो । जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजार ७८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट तीन हजार ७०२ तथा एन्टिजेनबाट ६६७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या नेपालमा पाँच लाख ५३ हजार ४२२ पुगेको छ । हाल ७६३ सङ्क्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म चार लाख ४० हजार ९५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार २०५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७९ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख आठ हजार ८९७ सक्रिय सङ्क्रमित रहेका छन् । पिसिआर परीक्षण गराउनेको सङ्ख्या ३० लाख ४२ हजार ३६९ पुगेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्