काठमाडौं, जेठ १७ । लुम्बिनी प्रदेशमा आज हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका चार जना सांसदले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार उक्त निर्णय गरेसँगै चारै जना सांसदले मतदान गर्न पाउने भएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै यसअघि सूचीमा नपरेका मन्त्री समेत रहेका जसपाका सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई पुनः मतदाता नामावलीमा समावेश गरिएको जनाएको छ । योसँगै उनीहरुले पनि मतदान गर्न पाउने भएका हुन् ।
यसअघि निर्वाचन आयोगले चारै जनाको नाम समावेश गरेको थिएन । जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो।
माओवादी केन्द्रबाट विजयी भएका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेसँगै लुम्बिनी प्रदेशमा एक राष्ट्रिय सभा पद रिक्त रहेको थियो ।
उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन्। निर्वाचन दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुनेछ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ।