जेरुसेलम, १७ जेठ : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै प्रधानमन्त्री नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्तिको सङ्घारमा पुगेको छ ।
इजरायलको सानो तर कट्टरपन्थी दल यामिना पार्टीका नेता बेनेटको नाटकीय घोषणाले प्रधानमन्त्री नेतन्याहू र उहाँको दल लिकुड पार्टीलाई विपक्षमा पु–याउने छ ।
बेनेट र मुख्य विपक्षी दलका नेता याइर लापिडलाई नयाँ सरकार गठनका सन्दर्भमा अझै पनि केही समस्या छन् । विगत दुई वर्षभित्र चार पटक संसदको निर्वाचन गर्दा समेत सरकार गठनमा जटिलता कायमै छ ।
बेनेटले भने, “मेरा मित्र याइर लापिडसँग मिलेर राष्ट्रिय एकताको सरकार निर्माण गर्ने हाम्रो उद्देश्य छ ताकि ईश्वरको चाहना बमोजिम हामी दुबैले मिलेर देशलाई पुनः सही मार्गमा ल्याउन सक्नेछौं ।”
दुबै नेताले आगामी बुधबारसम्ममा एउटा सम्झौतामा सहमति जुटाउने छन् । यस सम्झौताको केन्द्रमा दुबै नेताले दुई दुई वर्षका लागि आलोपालो इजरायलको प्रधानमन्त्री हुने रहेको छ । बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुने सम्झौतामा उल्लेख छ । लापिडको येस अटिड पार्टीले वार्ता टोलीले आइतबार पनि यस विषयमा छलफल गर्दैछ ।
नेतन्याहूको मन्त्रिमण्डलमा वरिष्ट मन्त्रीको भूमिका निर्वाह गरिसक्नु भएका बेनेट पनि प्रधानमन्त्री नेतन्याहूको झैं कठोर नीतिका पक्षधर हुनुहुन्छ । उनी पश्चिम किनाराको विवादास्पद आवास अभियानका पूर्व नेता पनि छन् । साथै उहाँले धार्मिक तथा राष्ट्रवादी यहूदीको प्रतिनिधित्व रहेको एउटा सानो पार्टी गठन गर्नु भएको छ । तर पछिल्लो समय नेतन्याहू र बेनेटबीच व्यक्तिगत तहमा असमझदारी बढेको छ ।
बेनेटले गत मार्च २३ मा सम्पन्न आमनिर्वाचनबाट नेतन्याहूको नेतृत्वमा सरकार गठन हुने कुनै सम्भावना नदेखिएको बताए । उनले अर्को चुनावबाट पनि नतिजामा फेरबदल आउन नसक्ने स्पष्ट गर्दै अब चुनावको चक्र समाप्त गर्नुको विकल्प नरहेको बताए ।
बेनेट र लापिड तथा गठबन्धनका अरु साझेदारबीच कुनै सम्झौता भए कम्तीमा केही समयका लागि भए पनि नेतन्याहू प्रधानमन्त्री पदबाट विस्थापित हुनु हुनेछ । विगत तीन दशकदेखि इजरायली राजनीतिमा नेतन्याहूको गहिरो प्रभाव छ । नेतन्याहूले प्रधानमन्त्रीका रुपमा १२ वर्ष शासन चलाइ सकेका छन् ।
टेलिभिजनमा एक सम्बोधन गर्दै नेतन्याहूले बेनेटले इजरायलका दक्षिणपन्थी समुदायको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । उनले राष्ट्रवादी नेताहरुलाई “बामपन्थी सरकार” मा सामेल नहुन पनि आग्रह गरेका छन् ।
उनले भने, “यस्तो किसिमको सरकार इजरायलको सुरक्षाका लागि खतरा हो, र इजरायल देशकै भविष्यका लागि खतरा हो ।”
सरकार गठनका लागि कुनै पनि दल वा गठबन्धनले १२० सदस्यीय संसद (नेसेट) मा ६१ स्थान प्राप्त गर्नु पर्दछ । दुई वर्षको अवधिमा चार पटक संसदको चुनाव गर्दा समेत कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका छैनन् । साना दलको समर्थनमा सरकार गठन गर्नुको विकल्प छैन । हालको संसदमा १३ वटा दलको प्रतिनिधित्व रहेको छ ।
सबैभन्दा ठूलो पार्टीको नेताको हैसियतमा नेतन्याहूलाई नै सहमतिको सरकार गठन गर्न राष्ट्रपति रुभेन रिभलिनले पहिलो अवसर दिएका थिए । तर उनले परम्परागत धार्मिक तथा राष्ट्रवादीको समर्थनमा बहुमत जुटाउने प्रयास गर्नु भए पनि त्यो सम्भव भएको छैन ।–एपी/Photo: Agency