काठमाडौं, जेठ १८। नेपाली सेनाले आइसोलेसन तथा उपचार केन्द्र निर्माण प्रक्रिया सुरु गरेको छ । निर्माणका लागि आह्वान गरिएको बोलपत्रको अहिले मूल्याङ्कन कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेनाले नेपाल–भारत सीमाका विभिन्न आठ स्थानमा एकरएक हजार क्षमताको आइसोलेसन तथा उपचार केन्द्र निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले दिए । कोभिड–१९ का सङ्क्रमितको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिक राख्न केन्द्र बनाउन लागिएको हो ।
उनले भने, “निर्माणका लागि कम्पनी छनोट गर्न गरिएको बोलपत्र आह्वानपछि आएका निवेदनहरूको अहिले प्राविधिक मूल्याङ्कन भइरहेको छ । प्राविधिक मूल्याङ्कनपछि आर्थिक मूल्याङ्कन गरिनेछ र उत्कृष्ट भएका कम्पनीसँग निर्माण सम्झौता गरी निर्माण कार्य अगाडि बढ्छ ।
” छनोट भएका कम्पनीले नै भवन निर्माणका साथै शैयालगायतका संरचनासमेत जडान गर्ने उनले बताए। सेनाले जेठ ५ गते एक हप्ताका लागि बोलपत्र आह्वान गरेको थियो भने जेठ १३ गते बोलपत्र खुलाई मूल्याङ्कन प्रक्रिया अगाडि बढाएको छ । गोरखापत्र दैनिकबाट