काठमाडौं, जेठ १९ । कोरोना भाइरस संक्रमितको उपचारमा भइरहेको अक्सिजन अभावलाई दृष्टिगत गर्दै स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले अक्सिजन प्लान्ट बनाउने भएको छ । इप्पानले आफ्नो संस्थामा आबद्ध कम्पनीहरूको सहयोगमा अक्सिजन प्लान्ट बनाएर सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।
इप्पानले २ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट गरेर सरकारमार्फत काठमाडौंको एक सरकारी अस्पताललाई हस्तान्तरण गर्न लागेको हो । इप्पानका उपाध्यक्ष तथा अक्सिजन प्लान्ट स्थापना समितिका संयोजक मोहन डाँगीले प्लान्ट स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताए । दुई हप्ताभित्रै बनाएर कुनै एक सरकारी अस्पताललाई हस्तान्तरण गरिने उनको भनाइ छ ।
‘इप्पानमा आबद्ध विभिन्न प्रवद्र्धकहरूबाट १ करोड ६० लाख रुपैयाँको सहयोग प्रतिबद्धता आइसकेको छ । सहयोगको प्रतिबद्धता आउने क्रम पनि जारी छ,’ उनले भने, ‘करीब २ करोड रुपैयाँको लगानीमा अक्सिजन प्लान्ट बनाएर अस्पताललाई हस्तान्तरण गर्नेछौं ।’ कोरोना संक्रमितको उपचारमा सहजता ल्याउने उद्देश्यले सहयोगस्वरूप सरकारलाई अक्सिजन प्लान्ट बनाएर दिन लागिएको उनले बताए ।
इप्पानले अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने ६५ लाख रुपैयाँ बराबरको सिलिन्डर सहितका स्वास्थ्य सामग्री चीनबाट मगाइसकेको छ । साथै, बढीमा १ करोड ३० लाख रुपैयाँसम्मको अक्सिजन प्लान्ट स्थापना गरिने उपाध्यक्ष डाँगीले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट