Logo

ढुवानीमा अवरोध नगर्न गृह मन्त्रालयको निर्देशन



वीरगञ्ज, जेठ २०। सीमावर्ती भन्सार र उद्योग प्रतिष्ठानबाट मालसामान ओसार्ने साधनलाई ढुवानीका क्रममा राजमार्गमा अवरोध नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

यसअघि सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यकीय वस्तु तथा सेवावाहेक अन्य सामग्रीलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको थियो ।

भन्सारबाट जाँचपास भएर भित्रिएका र औद्योगिक उत्पादन बोकेका गाडी काठमाडौं उपत्यका प्रवेश गर्न पाएका थिएनन् ।

गृह मन्त्रालयले बुधवार मातहतका २० ओटा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर ढुवानी सहजीकरण गर्न निर्देशन दिएपछि यो समस्या समाधान भएको छ । झापा, मोरड, बारा, पर्सा, रूपन्देही, कपिलबस्तु, बाँकेलगायत मुख्य नाका र राजमार्गमा पर्ने जिल्ला प्रशासनलाई ढुवानीका साधनलाई गन्तव्यसम्म जान र फर्किने सहज व्यवस्था मिलाउन भनिएको छ ।

सरकारले खाद्यान्न, औषधि, उपचार सामग्री तथा उपकरणलगायत २१ वस्तुबाहेक अन्य वस्तुको ढुवानीमा रोक लगाएको थियो । भन्सारबाट निस्किएका ढुवानी साधनलाई प्रहरीले बाटोमा रोक्ने गरेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्