काठमाडौं, २० जेठ । नेकपा (एमाले) का माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । पछिल्लो अवस्थाबारे छलफल गर्न बसेको बैठकमा अहिले केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । सुरुमा नेता नेपालले पार्टी एकताको सम्भावना अब कम भएको ब्रिफिङ गरेका थिए ।
उनले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको नाममा आफूहरुलाई अलमल्याउन खोजेको र कमजोर पार्ने काम गरिरहेको उनको ब्रिफिङ थियो । बैठकमा सहभागी एक नेताकाअनुसार आजको बैठकमा नेता नेपालले अब एकता हुने सम्भावना कम हुँदै गएको धारणा राखेका थिए । त्यहीपनि आफुहरुले इमानदार प्रयास गरेको उनको भनाई थियो ।
बैठकमा ओली पक्षसँग निरन्तर सम्वादमा रहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टपनि सहभागी छन् । नेता पाण्डेले आफूहरु अझैपनि एकताको लागि प्रयासरत रहेको तर सम्भावना कम हुँदै गएको बताएका थिए । उनले आफूहरुले एकताको लागि गरेको छलफललाई बालुवाटारले प्रचार गरेको र दाउपेजको रुपमा प्रयोग गरेको पनि गुनासो पोखेका थिए ।
आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनालले भने पार्टी एकताको लागि अझै संघर्ष गर्नुपर्ने बताएका थिए । तर, पार्टी नै फटाईहाल्न हतार गर्न नहुने उनको सुझाव थियो । अहिले केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । File Photo/ReportersNepal