काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टीभित्र जातीय राजनीतिले प्रभाव बढाउँदै लगेको छ । जातीय, क्षेत्रीय र सम्प्रदायको मुद्दा उठाउँदै विकास भएको जसपाले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान बनाउँदा सत्ताको विषयले विभाजित भएको छ । यसको औपचारिक घोषणा हुन मात्र बाँकी छ ।
जसपामा यतिबेला अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच फाटो निकै बढेको छ । एकले अर्कामाथि पार्टीबाट निष्काशन गर्नेसम्मको निर्णय गरेर निर्वाचन आयोगमा पत्र बुझाएका छन् ।
जसपाको कार्यकारिणी समिति देखि विघटित प्रतिनिधि सभाका सांसदहरुको कित्ताकाट चलिरहेको छ । अध्यक्ष महन्थ ठाकुर पक्षमा गैरयादवको संख्या न्यून छ । प्रभावशाली मध्ये राजकिशोर यादव मात्र यादव समुदायका हुन् ।
महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समिति सदस्य मृगेन्द्र कुमार सिंह यादव र रामनरेश राय यादव उपेन्द्रको समूहमा गएका छन् । मृगेन्द्र राष्ट्रियसभा सदस्य हुन् भने रामनरेश प्रदेश २ का मन्त्री हुन् ।
यसअघि महेन्द्र राय यादव, गजाधर यादव र रमेश यादव पनि उपेन्द्र यादव समूहमा गएका थिए । महेन्द्र राय तत्कालीन राष्ट्रिय जनता पार्टीका संस्थापक नेता तथा अध्यक्षमण्डलमा थिए ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव समूहले ३० भन्दा बढी रहेको दाबी गरेको छ । दल फुटाउन आवश्यक ४० प्रतिशत केन्द्रीय सदस्य पुग्न नदिने रणनीतिका साथ उपेन्द्र यादव सक्रिय भएका छन् ।
अहिले जसपाको आन्तरिक राजनीतिलाई केलाउँदा यादव भर्सेस गैरयादवबीचको प्रतिष्पर्धा जस्तो देखिएको छ । उपेन्द्र यादवको पक्षमा अधिकांश यादव समुदायको बाहुल्यता छ । उपेन्द्र पक्षधर ३० कार्यकारिणी सदस्यमध्ये ७ जना यादव समुदायका छन् । अशोक राई र डा. बाबुराम भट्टराई पक्षधरबाहेक उपेन्द्र यादव पक्षधरलाई मात्र गणना गरेर केलाउने हो भने कार्यकारिणी सदस्यमा उनी पक्षधर अधिकांश यादव समुदायका छन् । मुसलमान समुदायकाहरुको पनि उपेन्द्र यादव समूहमा बाहुल्यता छ ।
ठाकुर समूहमा गैरयादवको बाहुल्यता छ । मधेशी ब्राम्हण, कायस्थ र मधेशमा उपल्लो भनिने जातको बाहुल्यता छ । राजकिशोर यादव मात्र ठाकुर पक्षको कार्यकारिणीमा यादव समुदायका हुन् ।
मधेशमा सबैभन्दा बढी जाति या समुदायमध्ये यादवहरु रहेका छन् । उनीहरुको जनसंख्या पनि धेरै भएकाले राजनीतिमा प्रभाव पनि बढी छ । तर, रोचक पक्ष यो छ कि मधेशमा मधेशी ब्राम्हण र कायस्थ समुदायको जनसंख्या अन्य जातिको भन्दा कम भएपनि प्रभाव यादव समुदायको भन्दा पनि बढी छ ।
कार्यकारिणमा को कता
उपेन्द्र यादव पक्षधर
डा. बाबुराम भट्टराई
उपेन्द्र यादव
अशोककुमार राई
महेन्द्र राय यादव
राजेन्द्र प्रसाद श्रेष्ठ
नवराज सुवेदी
युवराज कार्की
रकम चेम्जोङ
रेणुकुमारी यादव
लालबाबु राउत
हिसिला यमी
गंगानारायण श्रेष्ठ
रनध्वज लिम्बु
राम सहाय प्रसाद यादव
डम्मर बल्लभ खतिवडा
दान बहादुर विश्वकर्मा
प्रकाश अधिकारी
मोहम्मद ईस्तियाक राई
दुर्गा सोव
परशुराम बस्नेत
प्रशान्त सिंह
भक्तबहादुर शाह
सुशीला श्रेष्ठ
विजयकुमार यादव
राजकुमार लेखी
परशुराम खापुङ्ग
हेमराज राई
मृगेन्द्र कुमार सिंह यादव
नवल किशोर साह
राम नरेश राय यादव
महन्थ ठाकुर पक्षधर
महन्थ ठाकुर
राजेन्द्र महतो
शरत्सिंह भण्डारी
अनिलकुमार झा
राजकिशोर यादव
सर्वेन्द्रनाथ शुक्ल
वृषेश चन्द्र लाल
गोविन्द चौधरी
जीतेन्द्र प्रसाद सोनार
उमाकान्त झा
चन्दा चौधरी
लक्ष्मणलाल कर्ण
मनिष कुमार सुमन
अमृता अग्रहरी
रेशमलाल चौधरी
केशव कुमार झा
अकवाल अहमद शाह
निर्जला राउत
सुनिल कुमार झा