Logo

शाकाहार: एक सम्पूर्ण भोजन



नरेन्द्र पराशर : मानिसका लागि खाना महत्त्वपूर्ण आधारभूत आवश्यकता हो । खानाले नै शरीर र मनलाई चाहिने आवश्यक ऊर्जा प्रदान गर्दछ । खानासम्बन्धी पूर्वीय धारणा ज्यादै उत्तम कोटीको मानिन्छ । हितभूक् अर्थात् हितकारी खाना खाने, मितभुक् अर्थात् थोरै खाना खाने र ऋतभुक् अर्थात् सही र इमान्दारीको कमाइबाट आर्जित खाना खाने व्यक्ति नै असल र स्वस्थ रहन सक्छ ।

‘आयुः सत्वबलारोग्यसुखप्रीतिविवर्धना, रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्विकप्रियाः’ श्रीमद्भगवद्गीता-१७/८)अनुसार आयु, सत्व, बल, आरोग्य, सुख, प्रीतिबर्धक तथा रसिलो, स्निग्ध, आडिलो, हृदयलाई शान्ति प्रदान गर्ने खाना नै असल मानिसहरूलाई मनपर्ने सात्विक भोजन हो । हरकसैले सहजै बुझ्नसक्ने कुरा के हो भने हामीले ग्रहण गर्ने खाद्यपदार्थले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक वा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । एक ग्लास दूध पिउँदा र एक गिलास मदिरा पिउँदा पर्ने फरकलाई यहाँनेर उदाहरणको रूपमा लिन सकिन्छ ।

हाम्रो अवचेतन मनमा आरोपण गरिएको खानासम्बन्धी गलत धारणाले हामीलाई हृदयको अनन्त गहिराइसम्म गाँजेको हुन्छ । त्यहीकारणले मानिसहरू झिँगा भन्किरहेको स्थानमा समेत निकै ठूलो पुरुषार्थ गरेझैँ माछामासु किनिरहेका हुन्छन् । असावधानीवश प्रकट भइरहने बेहोशी, मनको अतृप्त छटपटी तथा भुलिएको नैतिकताको कारणले नै मानिसहरू माछामासुमा अनावश्यकरूपले चासो दिइरहेका हुन्छन् । के मासु मानिसको मानसिक र शारीरिक स्वास्थ्यको लागि अत्यावश्यक खाद्यपदार्थ हो ? बिलकूल होइन ।

हाम्रा बजारहरूमा आइपुग्ने खसीबोका, भैँसीराँगा, हाँसकुखुरा, सुँगुरबंगुरहरूको स्वास्थ्य कस्तो हुन्छ, कमै मानिसहरूलाई मात्र थाहा हुने गर्दछ । तर प्रस्ट कुरा के हो भने ती जन्तुजनावरहरूको स्वास्थ्य सामान्यतया राम्रो हुँदैन । खोरेत, चर्चरे, भ्यागुत्ते, गगौंटे, जुकाहरू (नाम्ले, फित्तेजुका), निमोनिया, थुनेलो, टिबी, टाइफाइड, रेबिज, ब्रुसेलोसिस तथा लेप्टोस्पेरोसिस (निःसन्तान गराउन सक्ने वा बाँझोपना गराउने), लुतो, दाद, लौहमुते-रगत पिसाब गर्ने), एनिमिया, टिम्पेनी (जन्तुको पेटमा हावा भरिने), हेप्पाटाइटिस (कलेजोको रोग), इन्टराटाइटिस (आन्द्राको रोग), एन्थ्रेक्स, बर्ड फ्लू, एनिमल फ्लूजस्ता रोगहरू अवस्थाअनुसार सबै प्रकारका गाईबस्तु, भैंसीराँगा तथा खसीबोका र पन्छीहरूमा पाइन्छन् ।

तर यी सबै जन्तुजनावरहरूको स्वास्थ्य परीक्षण गरिएको हुँदैन । साथै सीमामा हुने क्वारेन्टाइन चेक पनि उचित पूर्वाधार तथा जनशक्तिको अभावले ग्रसित भएको कारणले सामान्य औपचारिकतापछि यी जन्तुजनावरहरू खुल्लारूपले नेपाल भित्रिन्छन् । साथै त्यसप्रकारका रोगहरू लाग्न नदिन पशुपन्छीहरूमा दिइने एन्टिबायोटिक्स, जुकाको औषधी, विविध प्रकारका भ्याक्सिनहरू, मासु बढाउँने स्टोराइड्स बेस्ड ग्रोथ हर्मोनहरूको असर औषधीअनुसार जन्तुजनावरको मासु तथा दूधमा निकै लामो समयसम्म रहन्छ । यसरी विविध प्रकारका औषधीको खराब प्रभाव मानिसको खाद्यचक्र-फुड चेन)मा प्रवेश गर्छ र दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्या सिर्जना हुने गर्दछ । साथै खसीबोका काटिने स्थानहरूको अवस्थाले पनि थप रोगलाई नै बढावा दिइरहेको हुन्छ । अर्कातिर मासु पसललेहरूले झिँगाहरू लाग्न नदिन हाल्ने वा छर्किने मन्दप्रकारका बिषादिहरू पनि उत्तिकै हानिकारक हुन्छन् ।

मानव स्वास्थ्यसम्बन्धी कुरा गर्दा मानिसमा हुने रुडिमेन्टरी केनिन टिथ (परिवर्तित कुकुरदाँत)ले के बताउँछ भने जीव विकाससम्बन्धी इतिहासको कुनै कालखण्डमा मानिसले यदि मासु खाएरै पनि आफ्नो अस्तित्व धानेको थियो भने पनि हाल मासुको लागि प्रयुक्त दाँत र नङ्ग्राहरू नहुनुको कारणले मानिस शाकाहारी प्राणी हो भन्ने कुराको सङ्केत गर्दछ । साथै मानिसको सानो आन्द्रा निकै लामो २२ मि. सम्म हुनु र पेटमा कम पाचन अम्ल निष्काशन हुने प्रक्रियाले पनि मानिस शाकाहारी प्राणी नै हो भन्ने प्रमाणित हुन्छ, जबकि मांसाहारी प्राणीहरूको आन्द्रा निकै छोटो र बढीमात्रामा अम्ल उत्पादन गर्ने पाचन ग्रन्थिहरू हुन्छन् । मांसाहारी जन्तुको छालामा कम छिद्रहरू हुने र जिब्रोबाट शरीरको तातो नियमन गर्ने फरक पसिना प्रणाली हुन्छ भने छालामा प्रशस्त छिद्रहरूको उपस्थितिले पनि मानिस शाकाहारी प्राणी हो भन्ने प्रमाणित हुन्छ ।

पानी पिउने तरिकाको आधारले पनि मानिस शाकाहारी प्राणी हो । मांसाहारी जन्तुहरू जिब्रोले चाटेर पानी पिउने गर्दछन् भने शाकाहारी प्राणीहरूले पानीको स्रोतमा मुख गाडेर नै पिउने गर्दछन् । उसैगरी विश्राम गर्ने तरिकाको आधारमा पनि मानिस डायुर्नल प्राणी हो जो दिनमा सक्रिय हुन्छ र रातमा विश्राम गर्छ जो शाकाहारी प्राणीको जीवन्त लक्षण हो भने मांसाहारी प्राणीहरू सामान्यतया नोक्चुर्नल अर्थात् रातमा सक्रिय हुने स्वभावका हुन्छन् । यसले पनि मानिस जन्मजात शाकाहारी प्राणी हो भन्न्ने कुराको सङ्केत गर्दछ ।

तसर्थ शाकाहारी प्राणीको शारीरिक बनोट र संरचना भएको मानिसले माछामासु खानाले स्वास्थ्यमा हानि गर्नु अनिवार्य छ । अर्कोतर्फ हामीले पशुपन्छीहरूलाई अन्तरहृदयदेखि करुणा र विनम्र भएर हेर्यौँ भने तिनीहरू निकै सुन्दर, कोमल, आकर्षक तथा बन्धुवत् देखिन्छन् । के मानिस तिनीहरूलाई काट्न, मार्न र आफ्नो पेटलाई तिनको मासुको चिहान बनाउन अभिशप्त छ ? पक्का पनि छैन । किनभने हामीले आफैले आफैँलाई बुद्धिमान् दाबी गर्दै आएका छौँ । अनावश्यक आहारका लागि पशुहत्या शोभादायक हुन सक्दैन । सबै जन्तुजनावरहरु हाम्रा मित्रहरू नै हुन् भन्ने कुरा हामीले सचेतरूपले मनन गर्नुपर्दछ । तसर्थ हरकोही व्यक्ति शाकाहारी बन्न प्रेरित र आकर्षित हुनु आवश्यक छ ।

माछामासुले अपच, कब्जियत, मोटोपन, आलस्य, अन्रि्रा, अल्सर, क्यान्सर, हड्डी कमजोर हुने जस्ता अनेकौँ रोगहरू लाग्दछन् । तसर्थ माछामासुको सट्टामा गेडागुडी, फलफूल, सागपात, बीउबीजन (मास्ट)जस्ता वनस्पतिजन्य खाद्यपदार्थलाई दैनिक भोजनको रूपमा ग्रहण गर्ने र मांसाहारलाई सदाका लागि परित्याग गर्नुपर्दछ वा गर्ने प्रयास गर्नुपर्दछ । पवित्र हिन्दकुश मिहालयमुनि भारतवर्षा शाकाहारको लामो इतिहास छ र यही क्षेत्रमा वेद, उपनिषद्, गीताजस्ता उच्चकोटीका दर्शनहरू प्रतिपादित भएका थिए र तिनमा व्यक्त दर्शन-साहित्य वातावरण संरक्षण, मानव स्वास्थ्य तथा नैतिक उदात्तताको लागि सतत लाभदायी र गुणकारी रहिआएका छन् भन्ने कुरा आजभोलि पश्चिमी दर्शनमा आधारित समाजले पनि स्वीकार गरिसकेको छ । शाकाहारी कण्व, कश्यप, धन्वन्तरी जस्ता ऋषिमुनिहरूका आश्रमनजिक पशुपन्छीहरूले आश्रय लिने गर्थे भने पश्चिममा आचार्य प्लेटो, सोक्रेट, पाइथागोरस जस्ता दार्शनिकहरू पनि शाकाहारी थिए ।

युरोप, अमेरिकामा मासु उत्पादनका लागि पालिएका जन्तु जनावरहरूको कारण भारी मात्रामा जैविक विविधता, माटो, हावा, पानी तथा वन विनाशमात्र भएको छैन, यस प्रकारको पशुपालनबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड जस्ता ‘ग्रिन हाउस ग्यासहरू’ र अन्य फोहरहरूले ग्लोबल वार्मिङमा निकै ठूलो (झण्डै १८%) मात्रामा योगदान गर्ने कुरा विश्व खाद्य सङ्गठनको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर अनुसन्धाताहरू त्यसको वास्तविक आँकडा सो भन्दा निकै गुणा बढी भएको अनुमान गर्दछन् ।

अर्कातिर ती जन्तु जनावरहरूले खपत गर्ने ताजा पानीको मात्रा पनि निकै डरलाग्दो छ । अमेरिका एक्लैले गरेको पशुपालनमा खर्च हुने अनाजले ८० करोड मानिसलाई वर्षभरि खान पुग्दछ । किनभने एक किलो मासु उत्पादन गर्न औषत १२ किलो अन्न खर्च हुन गर्दछ । जबकि गरिब मुलुकका करोडौं जनता हरेक रात भोकै सुत्ने गर्दछन् ।

स्वादमात्रको कारणले मांसाहार गर्नु किमार्थ राम्रो होइन । सबै प्रकारका भिटामिन र खनिजहरू वनस्पतिमा नै पाइन्छन् । तिनको सचेत र सन्तुलित उपयोगले शरीरमा कुनै प्रकारको पोषकतत्वको अभाव हुन दिँदैन । तसर्थ शाकाहारी जीवनशैली मानवको मानसिक र शारीरिक स्वास्थ्यको लागि मात्र होइन, पर्यावरण संरक्षणका लागि पनि लाभप्रद छ भन्ने कुरा हरेक सचेत नागरिकले मनन गर्नु आवश्यक छ ।

 



प्रतिक्रिया दिनुहोस्