काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा पूर्वमाओवादीलाई समेत समावेश गर्ने भएका छन् । यसअघि पूर्वमाओवादीका रामबहादुर थापा बादलसहित ७ मन्त्री सर्वोच्च अदालतको आदेशले मन्त्रीबाट पदमुक्त भएका थिए ।
मन्त्री बनाइएको केही महिनामै पदमुक्त भएकामा टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा लामा छन् । रामबहादुर थापा बादल साँढे तीन वर्ष गृहमन्त्री भए । लेखराज भट्ट पनि दुई वर्ष आपूर्तिमन्त्री बन्न पाए ।
अबको मन्त्रिमण्डल पुर्नगठन गर्दा ओलीले बादलले सिफारिश गरेका एकजनालाई मन्त्री बनाउने बुझिएको छ । तर, बादललाई नै मन्त्री बनाउने सम्भावना न्यून छ । ओलीले आजै बादलसँग यसबारे गम्भीर कुराकानी गरेका थिए ।
लेखराज भट्ट र प्रभु साह मन्त्रीमा दोहोरिने बुझिएको छ । माधव नेपालको गृहजिल्ला रौतहटका भएकाले पनि ओलीले उनलाई प्राथमिकतामा राखेको बुझिएको छ । भट्ट सुदूरपश्चिममा भीम रावललाई चुनौती दिनका लागि पनि बढाइन सक्छन् ।