Logo

उपप्रधानमन्त्री महतोको बहुल राष्ट्रको अभिव्यक्तिले बबाल



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री बनाएलगत्तै राजेन्द्र महतोले ‘बहुल राष्ट्र’को विषय उठाएका छन् । उनको यो अभिव्यक्तिले राजनीतिवृत्तमा तरंग ल्याएको छ ।

महतोको अभिव्यक्तिप्रति ओलीनिकटस्थहरुले नै आलोचना गरेका छन् । कर्णाली प्रदेशबाट यामलाल कँडेलले महतोको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

ओलीसँग असन्तुष्ट रहँदै आएका एमाले नेता बामदेव गौतमले महतो नेपाललाई बिखण्डन गर्न सक्रिय भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई बिखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन ।’

यसैगरी, एमाले नेता गोकर्ण बिष्टले महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल भएको अराजक र संविधान विरोधी भनेका छन् ।

स्मरणीय रहोस् २०७२ सालमा देशमा नाकाबन्दी लाग्दा महतो सीमानाकामा बसेर आन्दोलनको नेतृत्व गरिरहेका छन् । केपी शर्मा ओली नाकाबन्दीको विरोध गर्दै महतोलगायत नेताहरुको चर्को आलोचना गरिरहेका थिए । अहिले ओली नेतृत्वको सरकारमा महतो जसपाको ठाकुर पक्षको नेतृत्व गर्दै पुगेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्