कर्णाली, २३ जेठ: कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्री यज्ञबहादुर जिसीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले श्रेष्ठ र बिसीलाई मन्त्री सिफारिस गरेपछि मन्त्रिपरिषद् विस्तारको क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार बेलुका उनीहरूलाई नियुक्त गरेका थिए ।
काँग्रेसबाट सरकारमा सहभागी ऊर्जा विकासमन्त्री श्रेष्ठ जुम्ला र सामाजिक विकासमन्त्री बिसी सुर्खेत निवासी छन् । प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बनाएको छ भने यस अघि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जोडिएको युवा तथा खेलकुद पुनः सामाजिक मन्त्रालयमै फिर्ता गरेको छ । मन्त्रीद्वयले आजै पदभार ग्रहण गरेका छन् ।-रासस