Logo

प्रदेश २ः जसपा फुटले सरकारमा फेरबदल



काठमाडौं, जेठ २४ । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएको एक वर्ष बित्दा पनि प्रदेश २ मा संसदीय दलको साझा नेता चयन हुन सकेको थिएन। केन्द्रमा जसपा ठाकुर पक्ष ओली सरकारमा सहभागी भएलगत्तै प्रदेश २ मा जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन्।

यसअघि जसपामा दुईजना संसदीय दलका नेता थिए, संघीय समाजवादीबाट लालबाबु राउत र राजपाबाट जितेन्द्र सोनल। आइतबार जसपाको बहुमत सांसदले मुख्यमन्त्री लालबाबु राउतलाई जसपाको संसदीय दलको नेता चयन गरेपछि पार्टीभित्र पराकम्पन आएको छ। ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएलगत्तै जनकपुर झरेका जसपा अध्यक्ष उपेन्द्र यादव प्रदेशको सत्ता समीकरण बदल्ने कसरतसमेत तेज पारेका छन्।

जसपा केन्द्रीय कार्यकारिणी समितिमा बहुमत यादवकै पक्षमा रहेकाले पार्टीको आधिकारिकता उनैले पाउने पक्का छ। सोही आधारमा प्रदेश २ सरकारबाट महन्थ–राजेन्द्र पक्षका मन्त्रीलाई हटाएर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई भिœयाउने कसरत थालेको ती सांसदले बताए। जेठ २४ गते प्रदेश सरकारले प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम तय छ। यो कार्यक्रमपछि मात्र सरकार पुनर्गठन हुनेछ।

प्रदेश २ मा सरकार पुनर्गठनका लागि जसपाको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको गठबन्धन लगभग पक्का जस्तै रहेको जसपाको एक सांसदले बताए। एमालेको माधव नेपाल पक्षलाई समेत गठबन्धनमा सामेल गराउने कसरत जारी छ। जसपा उपेन्द्र पक्षमा पूर्व संघीय समाजवादीका ३० सहित ४० जना सांसद रहेको ती सांसदको दाबी छ। उनका अनुसार ठाकुर महतो पक्षका १० जना सांसद उपेन्द्रका पक्षमा उभिन्छन्।

जसपाको उपेन्द्र पक्षले कांग्रेस र माओवादीलाई सत्ता साझेदार बनाएमा प्रदेशसभामा आवश्यक बहुमत जुट्छ। अहिले प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित २ जना राज्यमन्त्री महन्थ–राजेन्द्र समूहमा छन्। जसपाले काँग्रेस र माओवादी केन्द्रसँग सत्ता साझेदार गरेको खण्डमा मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गर्न उनलाई संसदीय दलको नेता बनाइएको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्