Logo

प्रदेश २ मा समिकरण बदलियो, काँग्रेस सरकारमा सहभागी



काठमाडौं, २६ जेठ । प्रदेश २ मा सत्ता समिकरण बदलिएको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव खेमाले नेपाली काँग्रेससँग सत्ता समिकरण गरेको हो ।

जसपाको महन्थ ठाकुर खेमाका चार मन्त्रीलाई हटाएको तीन दिनपछि मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेसका तीन प्रदेश सभा सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उनीहरुको सपथ अहिले केहीबेरमा हुँदैछ ।

मन्त्री नियुक्त भएकाहरुमा रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्रप्रसाद सिंह छन् । यादव प्रदेश २ मा काँग्रेस संसदीय दलका नेता हुन् ।

प्रदेश २ का प्रमुख राजेश झाले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराउँदैछन् । प्रदेश २ को सत्ता समिकरण बदलिनुमा केन्द्रको सत्ता समिकरण बदलिनु पनि कारण बनेको छ ।

जसपाको महन्थ ठाकुर खेमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि मुख्यमन्त्री राउतले उक्त खेमाका २ मन्त्री र २ राज्यमन्त्रीलाई हटाएका थिए ।

त्यसपछि बहुमत सुनिश्चित बनाइराख्न राउतले काँग्रेससँग समिकरण बनाएका हुन् । जसपाको प्रदेश सभामा ५५ सांसद छन् । जसमध्ये अहिले उपेन्द्र यादव समूहमा ४० र ठाकुर खेमामा १५ मात्र छन् ।



प्रतिक्रिया दिनुहोस्