महोत्तरी, २९ जेठ: आफ्नै भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको हो । उमेश मृतक लक्ष्मणका आफ्नै भतिज हुन् ।
गत बुधबार घरमा कूलदेवताको स्थान र पूजा आराधना विषयमा दाजुभाइबीच भएको विवाद झडपमा परिणत हुँदा लक्ष्मण घाइते भएका थिए । उपचारका लागि काठमाडौँ पठाइएका लक्ष्मणको उही शुक्रबार मृत्यु भएपछि आज विवाद र झडपमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा पेश गरी हिरासतमा राखी अनुसन्धान गर्ने म्याद लिइएको प्रहरीले जनाएको छ । मृतकको शव काठमाडौँमै पोष्टमार्टम (शव परीक्षण)गरी अन्तिम संस्कारका लागि भ्रमरपुरा ल्याइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।-रासस/File Photo