Logo

इतिहास : ३० वर्षे शासनकालमा यस्ता राम्रा काम पनि गरेका थिए जंगबहादुरले



निरंकुश राणा शासनको जग बसाएका श्री ३ जंगबहादुरले तीन दशक लामो राज्यकालमा नराम्रा काम मात्र गरेनन् । देशमा दैवी प्रकोप परेको बेला खर्च गर्न उनले वि.सं. १९२५ मा कौसी तोसाखाना नामको ढुकुटी स्थापना गरेर रु.११ करोड राखेका थिए ।

त्यो समयमा यति रकम असाध्यै ठूलो थियो । वन संरक्षणको लागि उनले पहाड, मधेस र काठमाडौं खाल्डोमा रूख काट्नेलाई ऐनमै सजाय तोके । यस्तै, ‘बोक्सी’ को आरोप लगाउने रुढीवादी पक्षधरहरूलाई दण्ड सजायको व्यवस्था गरी सामाजिक सुधारको पहल गरे ।

जंगबहादुरले कानुनी र प्रशासनिक पाटोमा पनि काम गरेको पाइन्छ । कौसल अड्डा (भारदारी सभा) र जङ्गी तथा निजामती जागिरदारहरूको नाम, थर र दर्जाको अभिलेख राख्न ‘किताबखाना’ अड्डा स्थापना गराए ।

घूस खाने र खुवाउनेहरू दुवैको छानबिन गरी सजायका निम्ति धर्मकचहरीको पनि स्थापना गराए । त्यसले सजायका निम्ति श्री ३ समक्ष मुद्दा पेश गर्नुपर्थ्यो । उनले नेपाल राज्यको नापी गराई नक्शा बनाउन लगाएको इतिहास पनि छ । यससँगै जन्म र मृत्युको अभिलेख राख्ने व्यवस्था पनि गरेछन् । उनले भारततर्फको सिमानामा किल्ला ठोकेर साँध छुट्याउने काम पनि गराए, जसलाई जङ्गेपिलर भनिन्छ ।

विदेशी मुद्राको लेनदेन र खासगरी भारतीय मुद्रा कम्पनीको कारोबार गर्न सराफखाना नामक अड्डा खोलियो । पहाड, मधेश र दुर्गम भेगमा हुलाकको बन्दोबस्त पनि जंगबहादुरले नै गरेछन् । उनले थापाथली दरबारको कम्पाउण्डभित्रै दरबार स्कूल सञ्चालन गराए ।

जंगबहादुरले स्वास्थ्य सेवामा पनि केही शुरूआत गरेका थिए । आज जस्तो एलोप्याथी औषधिको वर्चस्व नरहेको त्यो बेला उनले थापाथली दरबार कम्पाउण्डभित्र वैद्यखाना स्थापना गराएर आयुर्वेदिक औषधिको प्रयोगमा बढावा दिए । बिफर जस्तो घातक रोग विरुद्ध लड्न खोप लगाउने प्रणाली पनि उनैले बसाएका रहेछन् ।

राणा शासकको दूरदर्शिता पनि बिछट्टैको ! भोकमरी लागेमा जनता मर्ने अवस्था नआओस् भनेर प्रधानमन्त्री जंगबहादुरले १९२३ सालमा ठाउँठाउँमा धर्मभकारी खडा गराएर अन्न जम्मा पारेका रहेछन् ।

विसं १९२६ मा काठमाडौंमा भयंकर अनिकाल पर्दा सरकारले तराईबाट तुरुन्तै चामल झिकाई रु.१ को चार पाथीको दरले बिक्री गर्‍यो । धर्मभकारीका लागि अन्न जोहो गर्न मालपोत लिंदा आधा नगद र आधा जिन्सी लिने गरिएको थियो । यो काम गर्न तराईमा जमीनदार चौधरी र पटवारीलाई, पहाडतर्फ थरी, मुखिया, जिम्मावाललाई तोकिन्थ्यो ।

सन् १८५७ मा भारतमा भएको आन्तरिक विद्रोहमा ब्रिटिस इष्ट इण्डिया कम्पनी सरकारलाई सघाउन सेनाका १४ हजार जवान लिएर जंगबहादुर आफैं लखनऊ पुगेका थिए । त्यस वापत इष्ट इण्डिया सरकारले सुगौली सन्धिबाट सन् १८१७ मा कब्जा गरेको नेपालको भूमिमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरेको थियो ।

जंगबहादुरले विसं १९१७ मा देशभर जनगणना गराएका थिए । जसमा ५२ लाखको आँकडा निस्किएको थियो ।

भोटसँग युद्ध गर्ने तयारीका क्रममा उनले त्यसतर्फ जाने बाटोको मर्मत गराए, ठाउँठाउँमा पुल बनाउन लगाए । भोटसँग सम्झैता गरी नेपालले चामल पठाउने र भोटबाट नून ल्याउने वस्तु विनिमय व्यापारको व्यवस्था गरे ।

उनले मन्दिर र गुम्बाहरूको मर्मत र आवश्यक परेको ठाउँमा जीर्णोद्धार पनि गराए । पशुपति मृगस्थलीमा विश्वरूपको विशाल मूर्तिको साथै मन्दिर स्थापना गराए । वागमती नदीको तीरमा कालमोचनदेखि पंचायनसम्म घाट समेत बनाउन लगाए ।

जंगबहादुरको प्रधामन्त्रीत्वकालमा पनि मालपोत उठाइन्थ्यो । तर, पोत उठाउन अत्यन्तै चर्को पर्दो रहेछ, खासगरी तराई मधेशतिर । मालपोत उठाउने सरकारी कर्मचारीलाई गाउँमा देख्नासाथ सम्पूर्ण पुरुषहरू मुग्लान–भारत पस्दा रहेछन् । यसै कारण जंगबहादुरले ‘चौधरीहरू’ को बन्दोबस्त गरे ।

आफ्नो क्षेत्रको जग्गा जमीनको मालपोत चौधरीले नउठाए त्यस वापतको पोत उसैले भर्नुपर्ने नियम बसालिएछ । मालपोत उठाउने काम वापत चौधरीलाई गाउँघरका सानातिना मुद्दामामिलाको छिनोफानो गर्न पाउने अधिकार दिइएको थियो ।

भैरव रिसालको पुस्तक ‘उहिलेको नेपाल’बाट

 

 



प्रतिक्रिया दिनुहोस्