Logo

नियात्रा : स्लिपिङ टुगेदर



लव गाउँले : सन् २००४ नोभेम्बर ८ देखि २१ सम्म श्रीलङ्काको राजधानी सहर कोलम्बोमा आयोजना भएको ‘पब्लिक पलिसी एन्ड गुड गभर्नान्स’ तालिममा सहभागी हुन म कतार एयरबाट दोहातिर लागेँ जुन मध्यपूर्वको मेरो पहिलो उडान थियो । मसँग प्रधानमन्त्री कार्यालयका एक अफिसर थिए । उनी सन् २००४ मा थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलजीमा डिफिडको इन्याब्लिङ स्टेट प्रोग्राम अन्तर्गत ‘गुड गभर्नान्स’ तालिममा पनि मसँगै थिए । त्यहाँ उनको कान छलेर सबैले उनलाई डीएफओ, डीएफओ भन्थे । उनी प्रशासनका अफिसर थिए । जङ्गली अफिसर त हैनन्, किन डिस्ट्रिक फरेस्टर अफिसर भनेका होलान् भन्ने लाग्थ्यो । पछि बुझ्दै जाँदा त डीएफओ भनेको दुईफुटे अफिसर पो भनेको रहेछ ।

हुन पनि उनी मुस्किलले दुई फुटमाथिका थिए । पछि फेरि म वर्ल्ड ट्रेड अर्गनाइजेसनको सौजन्यमा सन् २००५ को ३१ अगस्टदेखि १० सेप्टेम्बरसम्म ‘वन विन्डो सर्भिस’ (एक झ्याल सेवा) अध्ययन भ्रमणका लागि श्रीलङ्का र थाइल्यान्डमा गएँ । श्रीलङ्कामा नाभी अफिसमा काम गर्ने एक जना सिँहाली अफिसर (जसकी छोरी सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा चिकित्सा विज्ञान पढ्दै रहिछिन् उनको सामान ल्याइदिएर उनको बाउको नुन चुक्ता गरेँ) चिनजान थियो । उनले मलाई आफ्नो गाडीमा कोलम्बोको ठाउँठाउँ घुमाइदिए । समुद्र छेउको आफ्नो अफिस पनि लगे । उनकी श्रीमती (भावीजी भनेको बुझ्थिन्)— ले घरमा असाध्य मिठो आतिथ्यता दिइन् । डायरीमा नलेखेको कारण त्यो साथीको नाम बिर्सें । सुर्यकस्तुर्या उनको जात जस्तो लाग्छ । उनले मलाई कोलम्बो सुन पसलमा लगे । भावीजीले सिक्रीमा जोड गरेपछि मैले त्यहाँ ७.३४ तोलाको सिक्री एक सय दस अमेरिकन डलर तिरेर किनेँ । सोभिनियरका रुपमा अझै मसँग छ ।

काठमाडौंबाट पश्चिम दिशा हुँदै तीन हजार तीन सय पैँसट्ठी किलोमिटरको आकाशे दूरी पार गर्दै पाँच घन्टा लगाएर हामी दोहा पुग्यौँ । दोहामा केही घन्टाको ट्रान्जिटपछि श्रीलङ्कन एअरबाट विपरीत दिशा पूर्व हुँदै हल्का दक्षिण-दक्षिण भएर साढे पाँच घन्टामा तीन हजार छ सय एघार किमि नाघ्दै कोलम्बोस्थित बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने लक्ष्य लिएर हामी दोहाबाट उड्यौँ । एयरपोर्टमा हामीलाई रिसिभ गर्न आएका श्रीलङ्कन परराष्ट्र मन्त्रालयका प्रतिनिधिले गाडीमा लिएर गए । दुई अढाई घन्टा जतिमा हामी स्लिडा (श्रीलङ्का इन्स्टिच्युट अफ डेभलपमेन्ट एडमिनिस्ट्रेसन) ले व्यवस्थापन गरेको होस्टल पुग्यौँ । त्यो दिन र रात बित्यो । कार्यक्रममा कम्बोडिया, लाओस, भियतनाम र बङ्गलादेशबाट एक एक महिला/पुरुष, थाइल्यान्ड र बर्माबाट दुई-दुई महिला, मालदिभ्स र नेपालबाट दुई-दुई पुरुष, भुटानबाट एक पुरुष र आयोजक देशबाट एक-एक महिला /पुरुषको सहभागिता थियो ।

स्लिडा भवनमा कार्यक्रमको भव्य औपचारिकता सम्पन्न भएपछि हामी ट्यूटोरियल रूमतिर लाग्यौं । त्यहाँ एक आपसमा परिचय र मित्रता प्रगाढ होस् भन्ने उद्देश्यले गोलाप्रथाको माध्यमबाट एक देशले अर्को देशको सहभागी छान्नुपर्थ्र्यो । मेरो भागमा आयोजक देशकै महिला सहभागी (जो सहसचिवस्तरकी कर्मचारी थिइन् र उनी बच्चालाई ब्रेस्ट फिडिङ पनि गर्दै रहिछिन्) परिन् भने नेपालका दुईफुटे अफिसरको भागमा बर्माकी वाई वाई ड नामकी अविवाहित युवती परिन् । लेखेर टिपोट गरिएको नोट्स पढ्दै एकले अर्काको परिचय दिने काम सकिएपछि खासमा त्यो दिनको कार्यक्रम नै सकियो ।

भोलिपल्टदेखि स्रोत व्यक्तिको उपस्थितिमा रूटिन अनुसारको कार्यक्रम अघि बढ्यो । बीसदेखि बढीमा तीस मिनटसम्म सबै देशका सहभागीहरूले आ-आफ्ना देशका कार्यपत्र प्रस्तुत गर्नुपर्ने थियो । हाम्रा दुईफुटे अफिसर बडो जान्ने भएर आफ्नो पालोमा देशमा उत्कर्षमा पुगिरहेको माओवादी गतिविधिबारे फलाक्न थाले । मैले बीचैमा अब्जेक्सन गरेँ । स्रोतव्यक्तिले किन र बोल्नहुन्छ नि भन्दा मैले ‘एक त उनी र म प्रधानमन्त्री कार्यालयका कर्मचारी र अर्को नेपाल सरकार र माओवादीबीच शान्ति सम्झौता अघि बढ्ने प्रक्रिया चलिरहेकाले यो सम्पन्न नहुन्जेल यो विषयमा बोल्नु ठीक हुँदैन’ भनेँ ।

पछि उनले अर्को दिन अर्कै कार्यपत्र प्रस्तुत गरे । स्लिडाले परराष्ट्र मन्त्रालयसँगको सौजन्यमा बिहान ब्रेकफास्ट, दिउँसोको लन्च र बेलुकीको डिनर व्यवस्था गरेको थियो । परराष्ट्र प्रतिनिधि जो हाम्रो संयोजक थियो- उसलाई मैले भातसँग टोक्न खुर्सानी रेड/ग्रिन चिल्लीको कुरा गरेँ । त्यो दिन उसले बुझेन । त्यतिकै भयो । भोलिपल्ट मैले हिन्दीमा सोधेँ— ‘करीमे डाल्नेवाला ओ हरा और लाल चिल्ली होता हे न, ओ नही मिलेगा ?’ संयोजकले बल्ल बुझेछ— ‘अच्छा मिर्च ? जरूर मिलेगा !’ त्यसपछि दाल, भात, तरकारी र मासुसँगै एउटा छुट्टै ट्रेमा पर्याप्त हरियो खुर्सानी राखियो । म त टोक्थेँ टोक्थेँ । बर्माकी ड पनि मजाले ठोक्थिन्— खुर्सानी……! ड र म एकदम नगीच भैसकेका थियौँ । लेक्चर रुममा हामी सँगै बस्थ्यौँ ।

१४ दिनको कार्यक्रममा आ-आफ्नो देशबाट आउन र त्यहाँ जान गरी दुई दिन कटाएर बाँकी १२ दिनको कार्यक्रम छोटिँदै जाँदा ट्यूटोरियल रूम हामी दुईको मात्र हो कि जस्तो लाग्न थालिसकेको थियो । प्रायः ऊ अमलाको सुक्खा पाउँ लिएर आउँथी । स्रोतव्यक्ति आफ्नो स्रोत फलाकिरहेको हुन्थ्यो । ऊ सबैको आँखा छलेर मेरो हातमा पाउँ थमाउँथी । ऊ अङ्ग्रेजीमा कमजोर भएका कारण उसको कार्यपत्र मैले करेक्सन गरिदिएँ ।

हुन त म पनि कहाँ धुरन्धर थिएँ (छु) र अङ्ग्रेजीमा ! सानोमा बोर्डिङ स्कुल पढ्न पाएको भए पो ! ठस्ठस् कन्दै एसएलसी, आईकम, बीकम, डीपीए, बीए नेपाली गरेको । अस्ट्रेलियामा एमबीए गर्दा बढी मिहिनेत गर्नु परेकाले अङ्ग्रेजी म नब्बे प्रतिशतसम्म शुद्ध लेख्न सक्ने हुँदा यो त्यहाँ काम चलाउ मात्र हैन, पर्याप्त थियो । यसरी ऊ अङ्ग्रेजीको समस्याबाट मुक्त भई । उसको नाम वाई वाई भए पनि म उसलाई (उसको नाम पनि सम्बोधन हुने, नेपालमा नजिकका आइमाईहरूलाई बोलाएको जस्तो पनि हुने गरी) ‘ओई’ भन्थेँ । ऊ खुशीले हाँसेर यस ‘लावा’ भन्थी । हामीलाई श्रीलङ्कन टेलिभिजन, म्युजियम, बन्दरानाइके स्टेडियम, चिया कफी बिक्री वितरणको सरकारी नमुना केन्द्र आदि ठाउँमा भिजिटमा लग्दा औपचारिक रूपमा त्यहाँ आभार व्यक्त गर्नुपर्दा ‘ओई’ को सम्बोधन म तयार गरिदिन्थेँ । शनैःशनैः ट्युटोरियल रूमभित्रै नोटकापीमा हामीलाई मन लागेका कुरा लेख्थ्यौँ पनि । ऊ कहिलेकाहीँ जानेरै नोटबुक वा बलपेन टेबलबाट खसाल्थी । म निहुरेर उसको तिघ्रा समाउँदै त्यो उठाउन खोज्दा अमला-पाउँ मेरो मुखमा हालिदिन्थी । जिन्दगी रमाइलै लाग्यो । यसरी नोटकापीमा एउटाले लेख्ने अर्कोले उत्तर दिने गर्दागर्दै मेरो लेखाइ अलि गहिरो वा गम्भीर भएछ कि के हो, एकपल्ट ओईले ‘तँ मेरो ब्वायफ्रेन्ड हो र’ भनेर सोधी । मैले हाँसेर ‘हो नि’ भनेँ । ऊ मज्जाले हाँसी । नेपालमा पनि मलाई अहिलेसम्म अरू दुई जना विवाहितहरूले यस्तै भनेका थिए । तर ओई अविवाहित थिई ।

कार्यक्रममा आउटडोर भिजिट धेरै नै थिए । एक दिन हामी एउटा पहाड (हाइकिङ शैलीमा) उक्लनु पर्थ्र्यो । रिजर्भ बसमा हामी सबै गयौँ । अरुले शङ्का गर्लान् कि भनेर ओई र म सँगै नबसेर अघिपछि गरेर बस्यौँ । पहाडै त नभनुँ, कस्तो थुम्का भने समथरबाट टाढा बसेर हेर्दा अत्यन्त आकर्षक तर जतिजति नजिक गयो उति डरलाग्दो । कहीँ भित्तो छोएर, कहीँ रेलिङ छामेर, कहीँ कहीँ त आँखा चिम्म गरेर उक्लनु पर्ने । माथिबाट तल हेर्न नसकिने, कहाली लाग्ने । हामी माथि पुगेर नीलो आकाश हेरेर रमायौँ । ‘ओई’ अरू महिलाहरूसित रमाएर यताउति गरिरहेकी थिई तर मैले उसको प्यान्टको जिपर खुल्ला देखेँ र भित्र अलि कालोकालो पनि देखेँ । मैले उसलाई भन्नु भएन । मैले कम्बोडियाकी महिलालाई एक छेउमा बोलाएर ‘ओईको प्यान्टको जिपर खुल्लै छ, लगाऊ भन’ भने । उसले ‘ओई’को कानमा सुटुक्क भनी । ‘ओई’ थुम्काको भित्तातिर फर्केर जिपर तान्न थाली । मलाई पछि थाहा भो ऊ अन्डरप्यान्ट वा ब्रिफ्स् नलगाउने रहिछ….!

हाम्रो लामो दूरीको भ्रमण तय भयो । कोलम्बोबाट पूर्व उत्तर क्यान्डी (श्रीलङ्काको आकर्षक सहर), दम्बुल्ला, तम्बुत्तेगामा हुँदै अनुराधापुरा पहाडसम्म साढे पाँच घन्टा लगाएर तीन सय किमि बसबाट यात्रा गर्ने । हामी गयौँ । क्यान्डीको एउटा बौद्ध (गुम्बा) मन्दिरमा नाङ्गो पाखुरा, नाङ्गो तिघ्रा र कपाल त्यसै छोडेर मन्दिरमित्र पस्न वर्जित रहेछ । प्यान्ट र सर्ट लगाएकाहरू टाउकोमा रूमाल राखेर भित्र पसे । भुटानी केटो हाफप्यान्टमा भएकोले बाहिरै पर्‍यो ।

दोस्रो पटक २००५ को श्रीलङ्का यात्रामा क्यान्डी हाम्रो अन्तिम गन्तव्य थियो । नेपालबाट हामी छ-सात जना सहभागी थियौँ । लन्चको व्यवस्था आफैले गर्नुपर्ने भएकाले हामी एउटा सफा होटलमा गयौँ— खान । श्रीलङ्कामा बहुतर जनसङ्ख्या बुद्धिष्ट भएकाले त्यहाँ बियर एलाउ रहेनछ । तर हामीले होटल एटेन्डेन्टलाई भन्यौँ । ऊ सहमत भयो । उसले चिया राख्ने पटमा बियर राखेर ल्यायो र हामीले कपमा खन्याएर खायौँ । यस्तो पनि रहर । दोस्रो यात्रामा हामी होटल होस्टल नभएर पेइङ गेस्ट भएर बस्यौँ हामी तीन जना । राष्ट्रिय योजना आयोगका एक सिनियर एज अफिसर । उनी रिटायर्ड हुन लागेकाले उनलाई यो अवसर दिइएको थियो । अर्थ मन्त्रालयका अफिसर गोपाल र म । घरबेटीको स्वास्नी राम्री । लोग्ने रक्सीमा साह्रै लोभी । हामीले मगाएको रेडलेबल खान ऊ टाइम टाइम सिसाको गिलास लिएर आइरहन्थ्यो । यही मौकामा उसकी स्वास्नीसँग केही स्न्याक्स माग्ने निहुँमा गफ गर्न म किचेनमा गइरहन्थेँ । ऊ रक्सी हातमै बोकेर मलाई डिस्टर्ब गर्न आइरहन्थ्यो । हामीले धेरै ख्वायौँ उसलाई । जाने बेला एक पैसा डिस्काउन्ट गरेन । दोस्रो यात्रा यहीँ टुंगियो ।

क्यान्डीबाट हामी उकालो उकालो हुँदै उत्तरतिर लाग्यौँ । जहाँ छिरे पनि बुद्ध मन्दिर । बुद्धका अनेक रूप । कोही सुतेका, कोही लडेका, कोही बसेका र कोही उठेका । बाटोभरि अनगन्ती बुद्ध दर्शन गर्दै हामी अघि बढ्यौँ । ठाउँठाउँअनुसार बुद्ध स्तुपा रहेका क्षेत्रका आ-आफ्नै नियम रहेछन् । स्तुपा र वरिपरिका परिसर संरक्षण हेतु टिकटको व्यवस्था गरिएको थियो । पर्यटकलाई बेग्लै रेट । हामी दक्षिण एसिया र दक्षिण पूर्वी एसियाबाट आएकालाई सार्क राष्ट्र (टिकट सस्तो पर्ने भएकाले) अन्तर्गत पार्न आयोजकले निकै हन्डर खाए ।

यसरी हामी अनुराधापुरा पुग्यौँ । होटल रूम भरसक दुई-दुई जना महिला वा पुरुषका लागि छुट्टै बुक गरिएको रहेछ । कोठाको साँचो लिने बेलामा ‘ओई’को रूमसँगै मिलाऊँ भन्ने मेरो सोच थियो— म छान्न गएको त दुईफुटे अफिसरले पहिले नै बिल्डिङ नै फरक पर्ने रूमको साँचो लिएर हिँडिसकेको रहेछ । यो कुरा थाहा भएपछि ‘ओई’लाई पनि त्यति खुसी देखिन । उसले मलाई नचाहेरै ‘गुडनाइट’ भनी । म केही बोलिनँ । जे होस् । आखिर एक रात त हो बिताउनु पर्ने । भोलिपल्ट बिहानै फर्कनु नै छ ।

डीएफओलाई प्रिजेन्टेसनको बेला झपारेदेखि ऊ मसँग भड्किरहेको थियो । ऊ मेरो गल्ती खोज्दै हिँडिरहेको म बुझ्थेँ । यो मान्छेको हाइट मात्र हैन, जिउडाल बोली व्यवहार सबै हेर्दा चिम्पान्जीजस्तै देखिन्थ्यो । सानो सानो लामो पाखुरा । स-साना औँला । सानै चेप्टिएको नङ । जिउ र हातभरि झ्याझ्याप्ती भुत्लाहरु ! काला रौँहरुले भरिएका मसिना हात पाखुरा देख्दा चिम्पान्जी जस्तो देखिने । मैले ऊ नुहाउँदा देखेको । मैले साँच्चिकै यस्तो जङ्गली शरीर भएको मान्छे जीवनमा कहिल्यै देखेको थिइनँ ।

राति अबेलासम्म रमाइलो गरेर भोलिपल्ट हामी लन्च खाएर फर्कियौँ । बाटोमा फर्किंदा फर्किंदै रात पर्यो । ‘ओई’ बसको लास्ट सिटमा र म त्यो भन्दा अघिल्लो सिटमा थिएँ । साथीहरू कोही गफ गर्दै, कोही गीत गाउँदै माहोल तताइरहेका थिए । म ‘ओई’को तिघ्रा सुमसुम्याइरहेको थिएँ । अँध्यारो हुन्जेल ऊ केही प्रतिक्रिया जनाउँदैनथी । स्ट्रिट ल्याम्पले बेलाबेलामा हामीलाई दुःख दिइरहेथ्यो उज्यालो छरेर । यतिबेला उज्यालोमा ऊ मेरो हात हटाउँथी । म उसलाई हेरेर हाँस्थेँ । ऊ मलाई हेरेर हाँस्थी ।

हाम्रो कार्यक्रम सकिन पाँच दिनजति बाँकी थियो । लेक्चर रुममा लेक्चर चलिरहेकै हुन्थ्यो । मैले ओईको नोटकापीमा लेखेँ—

‘भरे राति बाह्र बजे म तिम्रो कोठामा आउँछु —!’

उसले लेखी— ‘किन, सँगै सुत्न ?’

अहिले म लिभिङ टुगेदरको कुरा सुन्दैछु । उसले त्यतिबेला स्लिपिङ टुगेदरको कुरा गरी ।

‘हैन । पाँच मिनट तिमीसँग कुरा गर्न’— मैले भनेँ ।

उसले भनी— ‘पर्दैन, म ढोका खोल्दिन के !’ मलाई यकिन थियो, ‘ओई’ले ढोका खोल्छे ।

‘तिमी ढोका खोले खोल, नखोले नखोल म आउँछु’— मैले लेखेँ ।

ऊ नोटकापी तानेर आँखा छोप्न थाली ।

यो बाह्र बजे मध्यरातिको समय सीमा मैले किन राखेँ भने त्यतिबेलासम्म मेरो बारेमा असाध्य चासो राख्ने मेरो चिम्पाञ्जी साथी घुरेर अचेत भैसक्थ्यो । र, ‘ओई’सँग बर्माबाट आएकी उसकी विवाहित साथी पनि घुरिसक्थी । म निदाएकै थिइनँ । घडीमा बाह्र बज्न दस मिनेट बाँकी भएपछि म उठेँ । हातमा पानीको खाली बोतल उठाएँ । मैले ढोकामा ताल्चा मारेँ । म अब खाली बोतल बोकेर बरन्डाको पूर्वतिर लाग्नुपर्थ्र्यो— लागेँ । डीएफओको कोठा नगीच थियो ढोकामा कान थापेर सुनेँ । ऊ मज्जाले घुरिरहेको थियो ।

म सरासर अघि बढेँ र छ खुड्किलो ओर्लें । बरन्डादेखि नै अँध्यारो त थियो नै तर बीचबीचमा बत्तीको प्रकाश छरिएको थियो । यस्तोमा हिँड्दा कहिले अनुहारमा उज्यालो पर्थ्र्यो, कहिले बुङ्गै अँध्यारो । सिँढी सकिनेबित्तिकै उत्तर फर्कियो भने भर्‍याङको खुड्किला सुरु हुन्थ्यो । म पूर्व सोझिएँ । म पानीको डिस्पेन्सर अघि पुगेँ । त्यो डिस्पेन्सरलाई म दक्षिण फर्केर हेरेँ भने त्यसको बायाँ ‘ओई’को रुम र दायाँ उसको साथीको रुम थियो । पानीको खाली बोतल लिनुको फाइदा के थियो भने मैले ‘ओई’को ढोका ढकढक्याउँदा उसको साथीले थाहा पाएर ढोका खोली भनी पानी लिन आएको भन्न मिल्थ्यो । अब ‘ओई’को ढोका खोल्न हात सकसकाए । मैले ढोकामा नक गरेँ । उसले घत्रक्कै ढोका खोली । म भित्र पसिसकेपछि लक गर्दै उसले भनी—

‘यु ड्रिङ्क…..?’

श्रीलङ्कामा बियर, रक्सी खान भारतमा जस्तो साँझ सातदेखि नौ बजेसम्म देशी सराबका दुकानमा लाइनमा बस्नुपर्ने थिएन । म लेक्चर टाइम सकिएपछि ब्याग बोकेर बजार जान्थेँ जहाँ एक बोतल बियरको सत्तरी श्रीलङ्कन रूपी पर्थ्र्यो । अझ बियरको खाली बोतल लगेको भए बियरको मूल्य चालीसमा झर्थ्र्यो । त्यतिबेला नेपाली सत्तरी पैसाको श्रीलङ्कन एक रूपी थियो । अहिले चौसठ्ठी पैसा बराबर एक रूपी भएछ । दिनको दुई हजार रूपी दिएकै थियो श्रीलङ्कन सरकारले । बियर खान के दुःख ! म ब्यागमा ल्याउँथेँ । गार्डले थाहा पाउँदैनथ्यो । होस्टल रूममा बियर वर्जित थियो । म खाएर बोतल गटरमा फ्याँक्थेँ ।

मैले ‘यस’ भनेर उसलाई हग गरेँ । एकछिन त ‘तेरो कुरा के हो भनेर जा’ भन्दै थिई । जब हामी बेडसिट ओछयाएर भुइँमा बस्यौँ । ऊ चुप भई । खाटमा बस्दा खाट कराउन सक्थ्यो र पल्लो कोठाको उसकी साथीले थाहा पाउने सम्भावना पनि थियो …!

एकछिनपछि ‘म जान्छु’ भनेर उठेँ । उसले मलाई तानेर सुताउँदै भनी—

‘अहिले पर्दैन । बिहान चार बजे मात्र जा !’ मैले त्यसै गरेँ ।

यसरी हामीले हरेक रात त्यहीँ बितायौँ । कार्यक्रम समापन हुने अघिल्लो रात हामी झन्डै एक घन्टा अँगालोमा बेरियौँ । मेरो जीवनको सबैभन्दा लामो अँगालो थियो त्यो । उसले त्यतिबेलै नै रून सुरु गरिसकेकी थिई । समापनको अघिल्लो दिन सपिङका लागि टाइम दिइयो । मैले घरको र ससुरालीका लागि मनग्य कपडाहरू किनेँ । ‘ओई’लाई पर्फ्युम किन्दिएँ । उसले मलाई जाने बेलामा कपडामा इम्ब्रोइडरी गरिएको कुनै देवकिन्नर किन्नरी खुसीले सामीप्यमा रहेको पोस्टर दिँदै भनेकी थिई— ‘यु एन्ड मी !’

बाटो छेउको एउटा कुनै पसल बाहिर फोटो खिच्न मन लाग्यो । आकाशमा बादल थियो । क्यामरा मैले भुटानी केटोलाई दिँदै भनेँ— ‘भाइ फ्ल्यास बाल ।’ उसले भन्यो— ‘बेलुका पनि बत्ती बाल्ने, दिउँसो पनि बाल्ने, कत्ति बाल्ने दाइ !’ उसको कुरोले म हाँस्नुपर्थ्र्यो तर हाँसिनँ । हाँसेको भए ‘ओई’ले शङ्का गर्थी ।

समापन समारोहमा जानुअघि म ‘ओई’को रूममा गएँ । ऊ बर्माको राष्ट्रिय पोसाकमा थिई । मैले ‘आज पनि कट्टु लगाको छैन’ भनेर सोधेँ । उसले हाँसेर र्‍यापर उचालेर देखाई । लगाएकी रहेछ । कार्यक्रमको तारतम्य मिलाउँदा मिलाउँदै अतिथि गण नआइपुगेकाले लन्च टाइम भयो । लन्च गरिसकेपछि हामी फेरि ‘ओई’को कोठामा गयौँ । मैले हग गरेँ । हामीले फ्रेन्च किस गर्‍यौँ । त्यसपछि अरु केही गर्‍यौँ । ऊ सारै नराम्रो तरिकाले रोई । मैले रुमालले उसको आँसु पुछिरहेँ ।

समापन कार्यक्रम सकियो । त्यो दिन फ्लाइट हुनेहरू आ-आफ्ना लगेजसहित लाउन्जमा निस्किए । बाँकी साथीहरू पनि त्यहीँ थिए । म डीएफओ भन्दा केही मिनेटअघि लाउन्ज पुगेँ । मलाई देख्ने बित्तिकै ‘ओई’ एक्कासि हिकहिकाएर रोइदिई । मलाई बङ्गलादेशकी महिलाले लेक्चर रूममा पहिलेदेखि वाच गरिरहेको म बुझ्थेँ । उसले मेरो प्रिजेन्टेसन पेपर राम्रो छ भनेर मागेकी पनि थिई । ऊसँग पनि केही उत्सुकता वा कौतुहूल थियो होला सायद । ऊ राम्री पनि थिई तर हाम्रो दोहोरो संवाद हुन पाएन ।

त्यही महिलाले ‘ओई’लाई नरुन उसको कपाल मुसारिरहेकी थिई । ओई के मान्थी ? ऊ रुँदै मेरो अगाडि आई । सबैजना हामीलाई हेरिरहेका थिए । विगत पाँच-छ रातको हाम्रो गोप्यता ‘ओई’को आँसुसँगै बगिरहेको थियो । जब ऊ मेरो नजिक भई, म के थामिन सक्थेँ ? मैले सबैको अगाडि उसलाई अँगालो हालेर एउटा कुनामा लगेँ र उसको आँसु पुछिदिएँ । मैले पनि पुछेँ । ऊ कोशी थिई र म गण्डकी थिएँ । मैले भनेँ—

‘ओई, म तिमीलाई धेरै माया गर्छु र मौका पर्‍यो भने बर्मा आएर तिमीलाई भेट्छु !’

उसले बुझे जस्तो गरी र नरम भई । म फटाफट लगेज बोकेर कसैलाई पनि हेर्दै नहेरी लाउन्जबाट निस्केर गाडीभित्र पसेँ ।



प्रतिक्रिया दिनुहोस्