काठमाडौं, २९ जेठ । बेलायतमा रहेको खाल्सा एड ईन्टरनेश्नलले नेपाललाई कोभिड राहतअन्तर्गत एक सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरि नेपालस्थित् ‘कन्ट्रिव्युसन फर नेपाल’ संस्थासँगको सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरिने जानकारी दिईएको छ ।
क्लबका आयोजित कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला, नायिका मलिका महत, खाल्सा एड ईन्टरनेश्नलका प्रतिनिधि देवेन्द्र सिंह, ‘कन्ट्रिव्युसन फर नेपाल’ का अध्यक्ष अशोक धमला र सचिव राम बञ्जारालगायतको उपस्थितिमा उक्त सहयोग गरिनेबारे जानकारी गराईएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ऋषि धमलाले नेपाललाई अहिले कोरोना महामारीको बेला अक्सिजन अभावको समस्यालाई सम्बोधन गर्नको लागि यो सहयोगले ठूलो राहत पुगेको बताएका छन् । उनले भने,‘केही पहिले अक्सिजनको अभावकै कारण कोभिड संक्रमितहरुले उपचार नपाएका समाचार आएका थिए, यो दुःखद् अवस्था थियो । यही अवस्थालाई मध्येनजर गरेर हामीले पनि आफ्नो स्थानबाट अक्सिजनको व्यवस्था गर्न पहल गरेका थियौं । खाल्सा एड ईन्टरनेश्नलले जुन किसिमले नेपाललाई यसरी सहयोग गरेको छ । यो हाम्रो लागि ठूलो कुरा हो । म संस्था र यसका प्रमुख रवि सिंहलाई धेरै धेरै धन्यवाद दिन्छु ।’
उनले नेपाल प्राकृतिक विपत्तिमा पर्दा देश तथा विदेशबाट सहयोग आउने गरेको स्मरण गर्दै यसपटक कोरोना महामारीको बेलामा पनि उल्लेख्य सहयोग आएको सुनाए । उनले भने,‘अहिले देश तथा विदेशबाट व्यक्तिगत र संस्थागत रुपमा सहयोग आएका छन् । यो खुशीको कुरा हो ।’
उनले अहिले कोभिडको बेलामा अक्सिजन कन्सन्टे«टर आउनु सकारात्मक भएको बताए । उनले भने,‘अब यी सहयोग सामाग्री वितरण गर्दा आवश्यकात्ताको आधारमा वितरण गरिनेछ ।’ पहिलो प्राथमिकता विकट तथा दुर्गममा दिईने पनि उनले जनाए । उनले भने,‘सहयोगी मनहरुलाई म धन्यवाद भन्न चाहन्छु ।’ उनले भोक र रोगले कोही पनि जनता नमरुन् भनेर आफूले अभियान नै चलाएको पनि बताए । जनतालाई रोग र भोकबाट बचाउनको लागि केन्द्रदेखि स्थानीय तहसम्मका सरकार जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नायिका मलिका महतले कोभिडको महामारीमा अक्सिजनको चरम अभाव देखेर आफूहरुले यो सहयोग गरेको सुनाईन् । उनले आफूले खाल्सा एडले गरेका विश्वव्यापी काम र समाजसेवाबाट प्रभावित भएर यसमा जोडिएको बताईन् । उनले भनिन्–‘म अहिले यो संस्थामा भोलुन्टरको रुपमा आवद्ध छु ।’
त्यस्तै, कार्यक्रममा खाल्सा एड इन्टरनेश्नलका नेपालस्थित् कार्यक्रम संयोजक देवेन्द्र सिंहले संस्थाले गरिरहेका कामको बारेमा प्रकाश पारेका थिए । उनले संस्थाले २० देखि २५ देशमा काम गर्दै आएको जनाए । उनले भने,‘हाम्रो संस्थाले विशेषगरि डिजास्टर रिलिफसम्बन्धी काम गर्दै आएको छ । अहिले सिरियामा पनि काम गर्दै आएको छ ।’ उनले संस्थाका संस्थापक रवी सिंहले यसअघि पनि नेपाललाई धेरैपटक सहयोग गरेको स्मरण गराए ।
उनले थपे–‘उहाँले विगतमा पनि भूकम्पको बेला पनि उल्लेख्य सहयोग गर्नुभयो । अहिले कोरोना महामारीको बेलामा नेपालमा अक्सिजनको चरम अभाव भएको थाहा पाएपछि उहाँले अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नुभएको हो । यसको साथै, उहाँले २ हजार जनालाई खानाको प्योकटको पनि व्यवस्था गर्नुभएको छ ।’ यसका अलावा आवश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गरिने पनि उनले जनाए ।