Logo

सूर्यविनायक–धुलिखेल सडक विस्तार हुने



काठमाडौं, जेठ ३० । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ ।

दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ । सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको सो सडक विस्तारका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकभित्रमा नै बोलपत्र आह्वान गरिने सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र डिजाइनसमेत तयार भई स्वीकृत भइसकेको बताउँदै नयाँ आर्थिक वर्षको सुरुदेखि नै निर्माण प्रक्रिया सुरु गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रमा नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने जानकारी दिए । उनले सो सडक विस्तारका लागि नयाँ बजेट वक्तव्यमा रकम विनियोजन गरिएकाले अब निर्माण प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको स्पष्ट पारे।

सो सडकका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भक्तपुरले गत वर्षदेखि नै सो सडकखण्ड क्षेत्रमा परेका संरचनाहरू हटाउन तथा रुख कटान सुरु गरिसकेको छ । सो सडक विस्तारका लागि करिब आठ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

महानिर्देशक थापाले कुल १५ किलोमिटर लम्बाइ रहेको सो सडकखण्डमा चार लेनमा विस्तार गरिने गरी डिजाइन गरिएको बताए । सो सडकखण्डमा छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिने छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्