Logo

अबको एक साता भित्र देशभर पानी पर्ने



काठमाडौं, जेठ ३० । अबको एक साता भित्र देशभर मनसुन सक्रिय हुने भएको छ । हाल नेपालमा बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता भित्र देशभर मनसुन सुरु हुने भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार ण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा शनिबारदेखि नै मनसुन प्रवेश गरिसेकेको छ । एक–दुई दिनभित्र देशव्यापी रूपमा मनसुनले प्रभाव जनाउने भएकाले पनि आकाश खुल्ने सम्भावना छैन।

मनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले शनिबार प्रेस वक्तव्य जारी गर्दै शुक्रबारदेखि नेपाल प्रवेश गरेको मनसुनी वर्षाको अवधिभर कतै अधिक र कतै मध्यम वर्षा हुने जनाएको छ । विभागका प्रवक्ता सुमनकुमार रेग्मीका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेशका अधिकांश स्थानमा र प्रदेश १ को मध्य तथा पश्चिमी पहाडी र हिमाली भेगमा सरदरभन्दा बढी वर्षा हुनेछ ।

त्यस्तै गण्डकी, लुम्बिनी, बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुनेछ । त्यसैगरी प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी भेगमा सरदरभन्दा कम वर्षा हुनेछ । निरन्तर हुने वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

आउँदा केही दिनमा ठूला तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य रूपमा बढ्ने तथा साना नदीनाला र खहरे खोलाहरूमा आकस्मिक बहाव भई चुरे तथा तराईका भू–भाग डुबानमा पर्ने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्