Logo

खुकुलो निषेधाज्ञा, आशसँगै त्रास पनि



वीरगञ्ज, असार १। कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा डेढ महीनापछि खुकुलो भएसँगै बारा–पर्सा कोरिडोरका उद्योग प्रतिष्ठान र व्यापारिक कारोबारले गति लिने अपेक्षा निजीक्षेत्रले गरेको छ । गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा सोमवारदेखि केही खुकुलो पारिएको छ ।

सरकारको निर्देशनअनुसार स्थानीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रहरूले निषेधाज्ञा खुकुलो पारेका हुन् । पछिल्ला दिनहरूमा कोरोनाको परीक्षण नै कम हुन थालेकाले निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमण पुनः बढ्न हो कि भन्ने त्रास पनि छ ।

वीरगञ्जमा यसअघि बिहान १० बजेसम्म अत्यावश्यकीय वस्तुका पसल खोल्न दिइएकोमा यो समयलाई बढाएर १२ बजेसम्म पुर्‍याइएको छ । बारामा यो समय बिहान ११ बजेसम्मका लागि तोकिएको छ । अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री र कृषि उत्पादन र उपकरणका पसल खोल्न दिइने भएपछि त्यस्ता उत्पादन र सेवाको आपूर्ति सहज हुने भएको छ । उत्पादन र आपूर्तिका मुख्य क्षेत्रमा निषेधाज्ञा सहज हुँदै गएपछि व्यापारिक गतिविधिले गति समात्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको विश्वास छ ।

कोरोना संक्रमण घटेपछि निषेधाज्ञालाई खुकुलो बनाइएको हो । कोरोना संक्रमण नियन्त्रण भए पनि उद्योग व्यापारका गतिविधि पहिलेकै लयमा फर्किन भने कम्तीमा २ महीना लाग्ने अध्यक्ष गुप्ता बताउँछन् ।

अहिले खाद्यान्न र औषधिबाहेकका अन्य उद्योग करीब बन्द अवस्थामा रहेको गुप्ताले बताए । ‘कच्चा पदार्थको ढुवानी र उत्पादनमा समस्या छैन । तर, उत्पादन भएको मालसामान बजारमा बेच्न सकिएको छैन,’ उनले आर्थिक अभियानसित भने, ‘उत्पादन गोदाममा थन्क्याउनुभन्दा कतिपय उद्योगले उत्पादन नै बन्द गरेका छन् ।’

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले निषेधाज्ञाका कारण बारा–पर्सा कोरिडोरका ६० प्रतिशत उद्योगको उत्पादन बन्द भएको दाबी गरे । तर, पछिल्ला दिनमा संक्रमण घटेको देखिए पनि निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमण बढ्ने हो कि भन्ने आज जनमानसमा त्रास कायमै रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्