काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नुभन्दा अघिकै एमालेको सांगठानिक संरचनाअनुसार नै पार्टीको स्थायी कमिटी बैठक बोलाउनको लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । तर, त्यसअघि उनले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुसँग परामर्श गर्ने भएका छन् ।
पछिल्लो समय पार्टी एकताको लागि ओलीले आफू २०७५ जेठ २ गतेकै अवस्थामा फर्कनपनि तयार रहेको सन्देश नेता नेपालसमक्ष पुर्याईसकेका छन् । तर, त्यसको लागि उनले नेपाल पक्षधर सांसदहरुले अदालतमा दिएको रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिएका छन् ।
नेपाल पक्षले भने ओलीको उक्त शर्तलाई कुनैपनि हालतमा नमान्ने बताईसकेका छन् । नेपाल पक्षधर दोस्रो पुस्ताका नेताहरु भने ओलीले गरेको पार्टी एकताको आह्वान सकारात्मक भन्दै शीर्ष नेताहरुले तत्काल गम्भीर वार्ता गर्नुपर्ने अडान राखेका छन् । ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरु पछिल्लो समय गम्भीर वार्तामा छन् ।
ओली पक्षबाट नेताहरु विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायत वार्तामा छन् भने नेपाल पक्षबाट योगेश भट्टराई, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सहभागी छन् । सार्वजनिक रुपमै नेपाल पक्षधर नेताहरुले ओलीको प्रस्ताव सकारात्मक भन्दै माधव नेपालको साथ छोड्ने संकेत गरिसकेका छन् । तर, उनीहरुले भने आफूहरुले ओलीसँग आत्मसमर्पण नगरेको बरु एकताको लागि ईमानदार प्रयास गरेको प्रष्ट पार्दै आएका छन् ।
ओलीले पार्टी एकता कायम गर्न आफू गम्भीर रहेको भन्दै सोहीअनुसार प्रस्तुत हुन नेपाललाई पनि आग्रह गरेको बुझिएको छ । आफ्नै पार्टीको सरकार गिराएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोज्नु न्यायसंगत नभएको नेपाल पक्षधर नेताहरुको गुनासो छ । अब ओलीले एकताको लागि आफू २०७५ जेठ २ गते नै फर्कन तयार रहेको भनिसकेपछि नेता नेपालपनि अब एकताको लागि ईमानदार बन्नुपर्ने उनीहरुको भनाई छ । तर, नेपालले भने ओलीले दुई÷दुई पटक प्रतिनिधिसभा विघटन गरेको र संविधान र व्यवस्थामाथि नै ठाडो प्रहार गरेकोले अब कुनैपनि हालतमा सम्झौता गर्न नसकिने अडान राखेका छन् । अहिले पनि उनले अदालतमा दिएको हस्ताक्षर फिर्ता नलिने सन्देश बालुवाटारलाई पठाईसकेका छन् ।
पछिल्लो समय एमालेले नेतृत्व गरेका विभिन्न प्रदेश सरकारमा माधव नेपाल पक्षकै सांसदहरुको सहयोगमा सरकारका नीति तथा कार्यक्रम पारित भएपछि विपक्षी गठबन्धनमा रहेका नेताहरुसमेत माधव नेपालको भूमिकालाई लिएर सशंकित बनेका छन् । हिजोमात्रै नेता नेपालको कोटेश्वरस्थित् निवासमा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा नेता नेपालले आफूले ओलीसँग सम्झौता नगर्ने विश्वास देउवा र दाहाललाई गराएका थिए । बरु, देशव्यापी रुपमा ओलीविरुद्धको गठबन्धन र मोर्चाबन्दी बलियो बनाउनुपर्नेमा नेता नेपाल प्रष्ट थिए ।
ओलीले भने माधव नेपालसँग तत्काल वार्ता नगरेपनि उनी पक्षधरहरुसँग भने एक्लाएक्लै भेटवार्ता गरिरहेका छन् । हालै उनले भीम आचार्यसँग लामो छलफल गरेका छन् । आफूविरुद्ध सर्वोच्च अदालतमा हालिएको रिटमा हस्ताक्षर गरेका २३ जना सांसदमध्ये १७ जनाले माधव नेपाललाई साथ छोड्ने ओलीको विश्वास छ । यसमा नेपाल पक्षधर नेता योगेशले सक्रिय भूमिका निर्वाह गरेको पनि बुझिएको छ । तर, नेपाल भने आफू पक्षधर कोही पनि सांसदले ओलीलाई साथ नदिने बताउँदै आएका छन् ।
file photo