Logo

आज कहाँ–कहाँ बाढीको खतरा



काठमाडौं, २ असार । मंगलबार बेलुकादेखि सिन्धुपाल्चोकमा जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अकस्मात जलसतह बढी खतरा तह पार गरेकोमा अहिले जलसतह घट्दो क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कोशी, बाग्मती, कर्णाली र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा छ । सबैमा बहाव सतर्कता तह भन्दा तलै छ । बाढी पुर्वानुमानको अनुसार आज कोशी र यसका सहायक नदीमा बहाब सामान्य रहने छ । त्यस्तै, नारायणी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र केही–साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पुर्वनुमाान रहेको छ ।

यसैगरी, आज कन्काई र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने, कमला, बाग्मती, पुर्वी राम्री लगायतमा बहाव बढ्ने तर सतर्कता भन्दा तलै हुने बताइएको छ । पश्चिम राम्री, तिनाउ, बबईका स–साना नदीजलाधारमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पुर्वानुुमान छ ।

त्यस्तै, आज २४ घन्टामा कालिगण्डकी, भेरी, यसका सहायक नदी जलाधार लगायत बाग्मती प्रदेशका रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, स्यांङ्जा, नवलपुरमा आकस्मिक बहाब भई सतर्कता आसपास हुने पुर्वानुमान रहेको छ ।

यसैगरी, लुम्बिनी प्रदेशको परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुममा पनि आकस्मिक बहावको सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र सुदुरपश्चिम प्रदेशको कंचनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीजलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता आसपास हुने पुर्वानुमान छ ।



प्रतिक्रिया दिनुहोस्