लमजुङ, ४ असार: केही दिन अघि दोर्दी खोलामा आएको बाढी पहिराले घर बगाएर बाढी पीडित भएकाहरुलाई सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट आर्थिक तथा सामग्री सहयोग भएको छ । लमजुङ दोर्दी गाउँपालिका—८ हिलेबजारका बाढी पीडित १८ परिवालाई सङ्घीय सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रतिपरिवार रु १० हजार र प्रदेश सरकारले प्रतिपरिवार डेढ बन्डल जस्तापाता सहयोग गरेको हो ।
सो सहयोग गण्डकी प्रदेशका नवनियुक्त बिना विभागीय मन्त्री मधुमाया अधिकारी गुरुङले पीडितहरुलाई हस्तान्तरण गर्दै आवास पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग पहल गर्ने र प्रदेश सरकारले पनि सहयोग गर्ने बताए । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सङ्घीय, प्रदेश र स्थानीय तीन वटै सरकारले पुनर्निर्माणका लागि सहयोग गर्ने छ भने । दोर्दी गाउँपालिका प्रमुख ओमबहादुर गुरुङले बाढी पीडित समुदायलाई थप सहयोग गर्न सङ्घीय तथा प्रदेश सरकारसँग आग्रह गरे ।
गत आइतबारदेखि परेको वर्षासँगै आएको बाढीले १८ घर बगाएको छ भने ६० घरपरिवार विस्तापित भई हाल फलेनी माविमा बसिरहेका छन् । बाढीले त्यहाँ आवतजावत गर्ने सबै बाटो तथा पुल क्षतविक्षत गर्दा थप समस्या भएको छ ।-रासस/File Photo