Logo

आज कतै घाम कतै बर्षा, यी भेगमा अति भारी वर्षा हुनसक्ने



काठमाडौं, असार ५ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ ।

सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै धाम लाग्ने र क्षणभरमै पानी पर्न सक्ने सम्भावना समेत बढ्दै गएको छ ।
महाशाखाका अनुसार बिहानको समय धेरैजसो स्थानमा घाम लाग्ने र दिउँसो वा रातिसम्म वर्षा हुने क्रम केही दिन चलिरहेने छ ।

पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै सोझिएको छ । त्यसैले यो रेखा तलमाथि भइरहन्छ । सोही कारण देशका केही भूभागमा भारी वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।
अन्यत्र भने हल्कादेखि मध्यम वर्षा हुने अवस्था देखिएको छ ।

महाशाखाका अनुसार आज, भोली र पर्सीसम्म प्रदेश १, गण्डकी, लुम्बिनी, बागमती र पश्चिमी भू–भागमा भारी वर्षाको सम्भावना छ । आइतबार केही भेगमा भने अति भारी वर्षा पनि हुनसक्ने भएकाले सतर्क रहन भनिएको छ ।

एक साता लगातारको वर्षाले पहाडी भेगको माटो भिजिसकेको छ । त्यसैले पनि रोकिँदै फेरि वर्षा हुँदा हल्का वर्षाले पनि भेल पहिरो र सुख्खा पहिरो जानसक्ने भएकाले पहाडी भेगमा थप सावधानीको आवश्यकता रहेको महाशाखाले उल्लेख गरेको छ ।

वर्षाको क्रम जारी नै रहेकाले खहरे र साना खोलमा आकस्मिक बहाव र ठूला नदीको सतहमा बढोत्तरी हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्