काठमाडौं, ५ असार । नेपाली काँग्रेसको शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर विषय उठाएका छन् । उनले ओलीले भारतको संस्थापन पक्षबाट साथ पाइरहेको र त्यसलाई चिर्नुपर्ने विषय राखे ।
बैठकमा सहभागी एक नेताका अनुसार पौडेलले ओलीले राजनीतिक प्रणाली नै ध्वस्त पार्न खोजेको विषय राखे । उनले भारतको संस्थापन पक्षको स्वार्थ पूरा गर्ने गरी काम गरिरहेको तर्फ औल्याएका थिए । ओलीले सत्ता स्वार्थका लागि जुनसुकै विदेशी शक्तिसँग पनि सम्झौता गर्न थालेको विषय पनि उनले राखेका थिए ।
भारतको संस्थापन पक्ष भारतीय जनता पार्टीतर्फ पौडेलको संकेत थियो । तर, पौडेलले भारतसँग काँग्रेसले गम्भीरताका साथ कुरा गर्नुपर्ने र ओलीलाई मिलिरहेको साथ अन्त गर्न लाग्नुपर्ने विषय पनि राखेका थिए । भारतले सधै नेपालको लोकतन्त्र र राजनीतिक परिवर्तनलाई साथ दिदै आएको र पछिल्लो समय उत्पन्न घटनाक्रम संवादमा कमी या सही ढंगले कुरा गर्न नसक्दा पनि भएको विषय राखेका थिए ।
पौडेलले वृहत्त लोकतान्त्रिक एकतामा पनि जोड दिए । विगतमा गिरिजाप्रसाद कोइरालाले लोकतान्त्रिक शक्तिबीच सहमति गरेर अगाडि बढेको र अहिले काँग्रेसले ओलीको कदमविरुद्ध चालेको कदममा पनि राजनीतिक परिवर्तनलाई संरक्षण गर्दै बढ्ने शक्तिबीच एकतामा जोड दिएका थिए ।
बाह्य शक्तिसँग काँग्रेसले कुरा गरेर लोकतन्त्रको रक्षा र राजनीतिक प्रणालीलाई जोगाएर बढ्न साथ मिल्ने वातावरण निर्माणमा लाग्नुपर्नेमा पौडेलको जोड थियो । उनले ओलीलाई बाह्य शक्तिको मिलिरहेको साथलाई चिर्ने विषयलाई गम्भीरताका साथ राखेका थिए । काँग्रेस नेतृत्वले त्यसमा मुख्य भूमिका खेल्न ढिलाई भएको पनि उनको भनाई थियो । उनले ओलीलाई मिलिरहेको साथ रोक्न सकिने सुत्रबारे समेत बुँदागत रुपमा कुरा राखेका थिए ।