जीवा लामिछाने : मलाई लाग्छ, कुनै पनि देशको नागरिकलाई देख्नु भने को आंशिक रूपमै भए पनि त्यो देशलाई देख्नु हो । ऊसँग बोल्नु भनेको त्यो देशसँग बोल्नु हो र ऊसँग व्यवहार गर्नु त्यो देशसँग व्यवहार गर्नु हो ।
पाठ्यपुस्तकमा सोली आकारको भारतको नक्सा देखेपछि म दिग्भ्रमित भएँ । जब भारत नेपालभन्दा चौबीस गुना ठूलो छ भन्ने जानें, त्यसपछि चकित परें । जब हिन्दी फिल्म ‘लैला मजनु’ पहिलो पटक हेरें, भारतीयहरू यति राम्रा हुँदारहेछन् भन्ने लाग्यो ।
आज भारत विश्वको ठूलो अर्थतन्त्र भएको देशमध्ये एक भएको छ । अहिले भारतीयहरू देख्दा भारत कस्तो होला भन्ने मेरो सोचाइ बदलिएको छ । तर पहिलो पटक हाम्रोतिर काम खोज्न आउने बिहारीहरूलाई देख्दा बनेको नक्सा भने किन किन पूर्ण रूपले अझै मानसपटलमा मेटिन सकेको छैन ।
भीमोदय निम्न माध्यमिक विद्यालयमा चार कक्षा पढ्दा पहिलो पटक भारतको भूमि टेकेको थिएँ । म स्काउटमा थिएँ त्यतिबेला । प्रेमनारायण झा सरको नेतृत्वमा हामी स्काउटका विद्यार्थीहरू वीरगन्ज र रक्सौल शैक्षिक भ्रमण गएका थियौं । त्यसपछि भने भारत जाने क्रम नियमित जस्तै हुन गएको छ ।
मस्कोमा थुप्रै भारतीय साथीहरू भए । एक जना भारतीय व्यापारी राजेश चावलासँग मेरो मित्रता थियो । उनकै निमन्त्रणामा मैले २०५३ सालमा एक पटक फेरि भारतको भूमि टेकें । त्यो पनि भारतको मुटु अर्थात् आग्रा । आग्रालाई भारतको मुटु भन्न मन लाग्यो किनभने त्यहाँ ताजमहल छ । प्रेमी–प्रेमिकाहरू भावुक भएर भन्छन्– दुइटा मुटु एउटा भयो……. तिमीलाई मेरो मुटु दिएँ……..यस्तै यस्तै । त्यसो हो भने प्रेमनगरी आग्रालाई किन भारतको मुटु नभनौं ?
गाइडहरू जे हो, त्योभन्दा बढाइचढाइ गरेर बोल्दै थिए । पर्यटकहरूलाई जतिसक्दो छक्क र सन्तुष्ट पार्न खोजिरहेका थिए । एउटा बूढो गाइड भन्दै थियो– यो ताजमहल बनाउँदा बीस वर्षसम्म बीस हजार मान्छेले आफ्नो प्रेमको बलिदान दिइरहे । भनिन्छ, प्रेमको मूल्य हुँदैन तर शाहजहाँले सन् १६४८ मा त्यतिखेरको तीस मिलियन भारतीय रुपैयाँ खर्च गरेर प्रेमको प्रतिमा बनाए– ताजमहल ।
आग्राको सौन्दर्यको प्रतीक एवं विश्व सम्पदाको सातौं आश्चर्यमध्येको एक ताजमहल नव प्रेमी–प्रेमिका र नव विवाहित दम्पतीहरूको हनिमुनका लागि एक प्रसिद्ध गन्तव्य समेत हो । ताजमहलको गेटमा पुग्दा ताजमहल घुमाउने साना गाडी, रिक्सा र ऊँटवाला टाँगाको एक किसिमको तानातान हुँदो रहेछ । यति प्रसिद्ध पर्यटकीय नगरमा समेत पर्यटकहरूलाई ठगी गर्ने प्रवृत्ति देख्दा भने उदेक लाग्यो मलाई !
सन् १६३२–१६५३ मा बनेको ताजमहलले मुगल सम्राट शाहजहाँ र रानी मुमताजको प्रेम झल्काइरहेको रहेछ । अलौकिक कला र सौन्दर्ययुक्त यो भवन प्रतितोला सुनको पन्ध्र पर्ने जमानामा तीन करोडभन्दा बढी भारतीय रुपैयाँ लागेको चर्चा समेत गरिन्छ । मलाई लाग्यो, कति महँगो प्रेम ! हामीलाई ताजमहल घुमाउने बूढो गाइड भन्दै थियो– ‘शाहजहाँले गरिबहरूको प्रेमको खिल्ली उडाए ।’