काठमाडौं, ६ असार । नेकपा (माले) का महासचिव सिपी मैनालीले नेकपा (एमाले) को एकता हुने वा नहुने भन्ने कुरा विदेशी हस्तक्षेपकारी शक्तिहरुको आशय र उद्देश्यको आधारमा निर्भर गर्ने टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
मैनालीले आफूले कहिल्यै पनि केपी शर्मा ओलीजस्तो देशभक्त कोही छैन भनेर नभनेको जिकिर गरे । ओलीले नाकाबन्दीको विरोध गरेको र नेपाललाई व्यापार पारवाहनलाई विविधिकरण गर्नको निम्ति प्रयत्न गरेकोले आफूले राम्रो काम गरेको भनेर भनेको मैनालीले सुनाए ।
उनले जनता र राष्ट्रको हकअधिकार, स्वतन्त्रता, सार्वभौमसत्ता र अस्तित्वलाई सुदृढ गर्नको निम्ति एकजुट हुनु राम्रो हो भन्ने प्रतिक्रिया दिएका छन् । नेपालमा विदेशी हस्तक्षेप बढ्नुमा नेताहरुको पनि हात रहेको उनको भनाई छ । सामन्तवादी कालदेखि नै नेपालमा विदेशीहरुसँग डटेर सामना गर्ने र विदेशीहरुसँग चुकेर झुक्ने दुवै थरिका मान्छेहरु रहेको स्मरण गराए । नेपालमा विदेशी शक्तिसँग मिलेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने तत्वहरु हाबी भएको उनको आरोप छ ।