नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले राजा सुरेन्द्रका दूतका हैसियतले सन् १८५० जुन १९ दिउँसो ३ बजे सेण्ट जेम्स प्यालेसमा ब्रिटिस महारानी भिक्टोरियासँग पहिलो भेट गरेका थिए । १ सय ७१ वर्षअघिको उक्त भेटमा जंगबहादुरले राजा सुरेन्द्रको पत्र र नेपालबाट लगेका उपहार महारानीलाई टक्र्याएका थिए । त्यहाँ लगिएका उपहारको मूल्य करिब २ लाख ५० हजार पाउण्ड स्ट्रलिङ रहेको त्यहाँका स्थानीय अखबारले छापेका थिए ।
१८५० मे २५ मा बेलायत ओर्लिएका थिए जंगबहादुर । त्यस बखत महारानी भिक्टोरिया प्रसूतिमा रहेकाले उनलाई भेट्नका लागि थप २५ दिन पर्खिनुपरेको थियो। जुन१९ मा पति र अन्य सीमित ब्रिटिस अधिकारीका साथ जंगबहादुरलाई भेटेकी महारानीले त्यसको अर्को दिन २० जुनमा भने जंगबहादुरको सम्मानमा दिवाभोजको आयोजना गरेकी थिइन् । जंगबहादुरले बेलायतमा झण्डै ९५ दिन व्यतीत गर्दा त्यहाँ उनले औपचारिक र अनौपचारिक गरी करिब ७ पटकसम्म महारानी भिक्टोरियासँग भेट गरे ।
त्यस समारोहमा जंगबहादुर राणा आफ्ना टोलीका अन्य सदस्यका साथ आफ्ना दुई भाइ कर्णेल जगतशमशेर र धीरशमशेरलाई समेत साथमा लिई जङ्गी पोशाकमा सजिएर श्रीपेचसहित पुगेका थिए । महारानीलाई भेट्दा जंगबहादुरले गरेको अभिवादनको समेत निकै चर्चा हुने गरेको पाइन्छ । अभिवादन सत्कारको निकै हेक्का राख्ने ब्रिटिसलाई जंगबहादुरले अभिवादनमा कुनै गुनासो राख्ने ठाउँ छाडेका थिएनन्, उल्टै जंगको निधनको धेरै वर्षपछि पनि उदाहरणीय जंग अभिवादनका रुपमा स्मरण गर्ने बनाएका थिए ।
जंगबहादुरले श्रीपेच उतारे, पूर्वी तर्फबाट झुकेर अभिवादन गरे र त्यसपछि फौजी तरिकाले सलाम गरे । जंगको निधनको धेरै वर्षपछि छापिएको एक अखबारका अनुसार राजाका दूतका रुपमा महारानीलाई भेटेका जंगबहादुर नेपालका पहिलो प्रधानमन्त्री थिए । नेपालका राजाले त्यहाँको परम्परा अनुसार उनलाई शिरमा पहिरिन अनुमति दिएको त्यो श्रीपेच उनले आफ्नो मुलुकका राजाका अगाडि उतार्नु पर्दैनथ्यो तर उनले महारानी भिक्टोरियाको सम्मानका लागि त्यो उतारेर अभिवादन गरे । वास्तवमा यो उदारहरण कुनै अर्को दोस्रो मुलुकका प्रतिनिधिलाई ब्रिटिस राजमुकुटप्रतिको सम्मानका बारेमा स्मरण गराउन प्रस्तुत गरिएको थियो । तर जंगबहादुरको सत्कार संस्कारको भने स्मरण गरिएको थियो । त्यतिबेलै छापिएका त्यहाँका स्थानीय अखबारहरुले जंगबहादुरको श्रीपेचको मूल्य १ लाख ५० हजार पाउण्ड स्ट्रलिङ रहेको भनी छापेका थिए ।
जंगबहादुरले राजा पृथ्वीनारायण शाहदेखि राजा सुरेन्द्रसम्मका नाम अंकित बहुमूल्य सुनका सिक्का र असर्फीहरु महारानीलाई उपहार दिन त्यहाँ लगेका थिए । त्यस्तै उनीहरुले नेपालको स्थानीय र मौलिक सामग्री हेर्ने इच्छा व्यक्त गरेपछि नेपालबाट पुनः धेरै थोक सामाग्री तयार गरी त्यता पठाइएको थियो । बेलायतमा युवती लोरा बेलसँग जंगबहादुरको प्रेम रोमान्सको धेरै किस्सा समेत निकै प्रसिद्ध छन् । अझ पछि लखनउ विद्रोहमा कम्पनी सरकारको मद्दतका लागि जंगबहादुरलाई अनुरोध गर्दा जंगले लोरालाई उपहार दिएको औंठी र जनाएको वचनबद्धतालाई कसरी प्रयोग गरिएको थियो भनेर ब्रिटिस अधिकारीहरुले आफ्ना पुस्तकमा बडो रोमान्चक ढंगमा प्रस्तुत गरेका छन् ।
जंगबहादुरको बेलायत यात्राको उद्देश्यबारे विभिन्न व्यक्तिहरुले विभिन्न ढंगबाट चर्चा परिचर्चा गरिसकेका छन् । त्यतिबेला उनी बेलायत र फ्रान्सको भ्रमण गरी नेपाल फर्किएका थिए। आफैले ब्रिटिसको शक्ति देखेर फर्किएपछि जंगबहादुरले ब्रिटिससँग घनिष्ठ मित्रवत् सम्बन्ध कायम गर्ने नीति अख्तियार गरे । नेपालको परराष्ट्र मामिलामा जंगबहादुरले आफू अघिका पृथ्वीनारायण शाह र भीमसेन थापापछि सबैभन्दा महत्त्वपूर्ण योगदान पुर्याए । नेपालको सीमा निर्धारण र व्यवस्थापनमा उनको ठूलो योगदान छ ।
१८५७ मा भारतमा सिपाही विद्रोह भड्किएपछि त्यसमा भारत वा ब्रिटिस कसलाई सहयोग गर्ने विषयमा सोही जुन ३ मा थापाथली गोलबैठकमा भारदारीसभा बस्यो । उक्त भारदारीमा सबैको मत ब्रिटिसलाई सहयोग नगरी भारतलाई सहयोग गर्नुपर्छ भन्ने थियो तर आफ्नै आँखाले अंग्रेजको शक्ति देखेका जंगले भारतलाई नभई ब्रिटिसलाई मद्दत गर्नुपर्ने निर्णय लिए । जंगको त्यस निर्णयले नेपाल ब्रिटिस भारतको हिस्सा हुन पाएन र स्वतन्त्र राष्ट्र रहिरहन मद्दत पुर्यायो ।
सिपाही विद्रोहमा ब्रिटिसलाई गरेको मद्दतको बदलामा उनीहरुले जंगलाई G.C.S.I. को तक्मा र तराईका ४ जिल्ला बाँके , बर्दिया , कैलाली र कञ्चनपुर फिर्ता दिए । सन् १८६० पछि दोस्रो पटक पुनः बेलायतसहितका अन्य मुलुक भ्रमण गर्ने जंगको चाहनालाई ब्रिटिसहरुले सहजै पूरा हुन दिएनन् । उनले चाहेको धेरै वर्षपछि सन् १८७५ मा जुरेको त्यो अवसर पनि बम्बईबाट पानीजहाजमा बेलायततर्फ प्रस्थान गर्नु अगावै जंग घोडाबाट लडेपछि पूरा हुन पाएन । त्यसपछि जंगबहादुर बेलायत नगई नेपाल फर्किए ।
(सन् १८५० जुन १९ महारानी भिक्टोरियासँग भेट्दा भाइहरु धीरशमशेर र जगतशमशेरसँग जंगबहादुर राणा । यो स्केच लण्डनमा त्यतिबेलै बनाइएको रहेछ ।)