काठमाडौं, असार ९ । विश्वका अधिकांश गरिब राष्ट्रले कोभ्याक्सअन्तर्गत आवश्यक डोज खोप नपाउँदा खोप अभियान अगाडि बढाउन नसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ। संगठनका वरिष्ठ सल्लाहकार डा। ब्रुस एलवार्डले हाससम्म कोभ्याक्स सुविधाअन्तर्गत १३१ देशमा ९ करोड डोज खोप उपलब्ध गराइए पनि विश्वभर फैलिइरहेको भाइरसबाट जोगाउन यो मात्रा अत्यन्त कम रहेको बताएका हुन्।
अफ्रिका केही देशमा तेस्रो लहर तीव्र रूपमा फैलिइरहेको बेला खोपको अभाव देखिएको हो। सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले भाइरस रोक्न आफ्नो देशलाई कठिन भएको बताउँदै धनी राष्ट्रले खोप भण्डारण गरेर नराख्न अनुरोध गरेका छन्। दक्षिण अफ्रिका महादेशका २ प्रतिशत जनसंख्याले मात्र हालसम्म खोप पाएका छन्। राष्ट्रपति रामाफोसाले कोभ्याक्ससँग मिलेर दक्षिण अफ्रिकामै खोप उत्पादन गर्ने तयारी भइरहेको पनि बताए।
विश्वका गरिब राष्ट्रलाई खोप सस्तो दरमा उपलब्ध गराउने उद्देश्यले गत वर्ष कोभ्याक्सको स्थापना गरिएको थियो। विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको यो अभियानअन्तर्गत सन २०२१को अन्त्यसम्म २ अर्ब डोज खोप उपलब्ध गराउने सुरुमा लक्ष्य लिइएको थियो। गरिब राष्ट्रका २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप यो सुविधाले अनुदानमा उपलब्ध गराउने लक्ष्य थियो। तर खोपका उत्पादनमा ढिलाइ तथा आपूर्ति व्यवस्थामा देखिएको गढबढीका कारण कोभ्याक्सको खोपमा भर परेका धेरै राष्ट्रमा खोपको अभाव भएको छ। उगाण्डा, जिम्बाबे, बंगालादेश, ट्रिनिडाड एण्ड टोबागोमा पछिल्ला दिनमा खोपको व्यापक अभाव खट्किएको छ।