काठमाडौं, ९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल काठमाडौं आएका छन् । मुख्यमन्त्री पोखरेल हिजोमात्रै काठमाडौं आएका हुन् । उनले काठमाडौं आउनेबित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । त्यसलगत्तै उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका थिए ।
आज विहान भने उनले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेस नेता गोपालमान श्रेष्ठसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्री नियुक्त भएपनि उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । आफूसँगै सपथ खाएका मन्त्रीहरु पनि अहिले विनाविभागीयको हैसियतमा छन् ।
कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् । सरकारमा सबैलाई समेट्नुपर्ने उनमा बाध्यता छ । तर, सबैले आकर्षक मन्त्रालयमा आँखा लगाएपछि उनी समस्यमा परेका छन् । मन्त्रिपरिषद् विस्तारमा अप्ठ्यारो परेपछि उनी पार्टी नेतृत्वहरुसँग भेटवार्ता गर्न काठमाडौं आएका हुन् । file photo