काठमाडौं, १० असार । सन्तोषी सुब्बाको हत्याको अभियोगमा एकजना युवक पक्राऊ परेका छन् । पक्राऊ परेका युवक सिन्धुपाल्चोक घर भएका सुवास तिमिल्सिना हुन् ।
प्रहरीले उनलाई पक्राऊ गरी बयानका क्रममा हत्याको कारण समेत खुलेको जनाएको छ । प्रहरी स्रोतका अनुसार तिमिल्सिना र सुब्बाबीच हालैमात्र चिनजान भई भेट भएको थियो ।
दक्षिणकालीमा भेटका क्रममा तिमिल्सनाले बलात्कारको प्रयास गरेपछि सुब्बाले प्रतिकार गर्न खोजेकी थिइन् । प्रतिकारका क्रममा तिमिल्सिनाले घाँटी थिची हत्या गरी ढुङ्गाले अनुहार क्षतविक्षत पारिदिएको खुलेको छ ।
अपराध अनुसन्धानको टोलीले अभियुक्त सुवास तिमिल्सिनालाई असनबाट पक्राऊ गरेको बुझिएको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा काम गर्थे । हत्यापछि उनी दक्षिणकाली बाहिर गएका थिए ।
पशुपंक्षीको आवाज निकालेर चर्चामा आएकी सुब्बाले धर्मपिता धने तामाङलाई फर्पिङतिर गएको जानकारी पनि गराएकी थिइन् । आइतबार घरबाट हिंडेकी उनको सोमबार हत्या भएको थियो ।