Logo

धर्म के हो ?



दीपक भण्डारी : धर्म के हो भन्ने उत्तरको खोजीमा म मन्दिरतिर लागेँ । मन्दिरमा गएर हेरेँ, धर्म गर्ने धेरै भेटेँ तर म झन् दोधारमा परेँ अनि आफूतिरै प्रश्न तेस्र्याएँ – के उनीहरू पूर्णरूपमा धर्म गरेका छन् त ? कोही घन्टौँ लाइन लागेर मन्दिरमा दर्शन गर्न व्यग्र देखिन्थे । कोही लामो टीका लगाएर धर्म पूर्ण भएको सम्झन्थे । कोही धर्म कमाउने र आफ्नो ग्रहदशा कटाउन पूजा लगाउन व्यस्त । पण्डित आफ्नो जीविका चलाउनको लागि धर्म र पूजाका अनेक प्याकेज बिक्री गर्नका लागि तत्पर देखिन्थे ।

मैले सानोमा पनि सुनेको थिएँ – फलानो मन्दिरमा गयो भने यो मागेको पुग्छ, त्यो मन्दिरमा गयो भने यो, अनेक किम्बदन्तीहरू । प्रेमको भोको पुग्थ्यो कुनै मन्दिर, सन्तानप्राप्तिको लागि सन्तानेश्वर, प्रेमप्राप्तिको लागि बङ्गलामुखी आदि आदि । म यो भनेर कसैको आस्थामाथि प्रहार गर्न खोजेको होइन । हरेक मानिसको आ–आफ्नो आस्थाको केन्द्रविन्दु हुन्छ । कसैप्रतिको आस्थाले आपूmलाई नियन्त्रण र अनुशासनमा राख्छ भने त्यो जीवनको लागि अपरिहार्य चिज हो । अदृश्य शक्तिलाई आ–आफ्नो भिन्न भगवान्को रूपमा पुज्नु, उसलाई आपूmमा ग्रहण गर्न खोज्नु हरेक मानिसले आफ्नो जीवनलाई सही मार्गदर्शन दिनु हो अनि त्यही मन्दिर परिसरमा दीनदुखीले हात फैलाएका थिए । त्यो भीडमा उसलाई नजर दिने मैले एकदुई जना मात्र देखेँ । हामी पूजा गर्छौं भगवान् प्राप्तिको लागि । हामीमा सेवाभाव अरूको दुःख महशुस गर्न सक्ने संवेदनशीलता केही मात्रामा भए हामी उनीहरूलाई पनि नजर दिन्छौँ होला शायद । आप्mनो सक्दो सहयोगले उसको आत्मा खुशी हुन्छ र ऊभित्र भएको भगवान्ले आशिष दिन्छ हामीलाई अनि मात्र पूर्ण हुन्छ हाम्रो धर्म । त्यसैले भनिन्छ सेवा नै धर्म हो ।

मलाई मेरो बाल्यकालको एउटा घटना स्मरणमा आयो । पशुपतिको धर्मशालामा बस्ने एक बुढी आमा हाम्रो घरपरिसरमा केही माग्न आउनुहुन्थ्यो । मैले उहाँलाई ठूलो कचौरा भरेर चामल हतार गरी गरी दिन्थेँ । म नभएको वेलामा सोध्नुहुन्थ्यो रे ! बाबु छैनन् । म अहिले पनि उहाँको त्यो हँसिलो मुहार सम्झिन्छु, अहिले पनि उहाँको आशीर्वाद पाएको महशुस गर्छु । मैले त्यो वेला धर्म कमाउन पनि गरेको थिइनँ, सेवा गर्नुपर्छ भनेर पनि शायद होइन । अबोध बालकको निर्दोष स्वार्थरहित निश्चल मनको उत्प्रेरणा थियो तर म अहिले भन्न सक्छु उहाँको मुस्कान र हँसिलो मुहारको सकारात्मक प्रभावको ऊर्जाले अहिलेसम्म पनि मेरो जीवनमा सकारात्मक तरङ्ग ल्याइदिएको छ । जानी न जानी शायद मैले धर्म गरेको थिएँ ।

के ठाडो टीका लगाउँदैमा धर्म हुने हो र ? म प्रश्न गर्छु । म आफैलाई विभिन्न प्रतिप्रश्न पनि गर्छु – के त्यसो भए के ठाडो टीका नलगाउँदैमा धर्म हुन्छ त ? के दीनदुःखीको सेवाले मात्रै धर्म हुन्छ ? के मूर्तिपूुजनले धर्म हुन्छ ? के मूर्तिपुजन नगरे धर्म हुँदैन ? के हाम्रो पहिलेदेखि मानिएको धर्म संस्कृति, रीतिरिवाज, पूजनविधि सब बेकार हुन् ? बाटो जुन अँगाले पनि ईश्वरीय तत्त्वलाई बुभ्mने कोशिस गरेर उसमा नै आफ्नो जीवन समर्पण गर्न सके हामी आफ्नो जीवनलाई ठूलो धर्म गर्न सक्छौँ । सबै कुरालाई अँगाल्न सके, सबैको परिस्थिति सबैको सोचाइ अनि तरिकालाई सम्मान दिन सके त्यसैमा धर्म छ । ठूलो, सानो, उच, निच भन्ने भावना त्याग्न सके त्यसैमा धर्म छ । शायद टीका लगाउनु, मूर्तिपूजन गर्नु भनेको, कुनै नामकरण गरिएका धर्मलाई अँगाल्नु भनेको आपूm अनुशासित हुन नियममा बाँधिनु हो । अनुशासित बनाउने हरेक नियम आपूmमा राम्रा हुन्छन् । त्यही भएर सबै आपूmमा ठिक छ तर पूर्ण छैन । आपूmले सोचेको र अँगालेको कुरा नै ठिक देख्नु भनेको आपूmलाई र आफ्नो धर्मलाई सङ्कुचनमा पार्नु हो ।

हिन्दु धर्मावलम्बीको पूजनविधि फरक छ होला, मुस्लिम धर्मावलम्बीको फरक । त्यस्तै सबैको फरक तर सबैले पूजा गर्ने त्यही अदृश्य शक्तिको, त्यही ईश्वरको नाम भने फरक राम, शङ्कर, कृष्ण, जिसस, अल्लाह आदि आदि हामी भन्ने गर्छौं । यथार्थमा भन्ने हो भने पहिला आफ्नो स्वधर्म निभाउनुपर्छ । शिक्षकको धर्म सही शिक्षा दिनु, डाक्टरको धर्म सही उपचार दिनु, व्यापारीको धर्म सही रूपमा व्यापार गर्नु अर्थात् आफ्नो कर्म सही रूपमा गर्नु । मानवधर्म सबै मानवजातिको हितमा अगि बढ्नु हो । हरेक प्राणीको धर्म सब प्राणीको हितमा सोच्नु हो । सत्कर्म गर्नाले मात्र धर्म पूर्ण रूपमा गरेको अनुभूति हुन्छ ।

कसैले धर्मलाई विभिन्न नाम दिएर गुटबन्दी गरेका छन् । मलाई हामी सानो हुँदा तल्लो जाति भनिनेका बालक मन्दिर बाहिर बसेको देखेँ अनि सोधेँ – किन भित्र नआएको ? उसले जवाफ फर्कायो हामी भित्र आउनुहुन्न रे ! मन्दिर अपवित्र हुन्छ रे ! मनमा चस्का पस्यो यो के धर्म ? यो कस्तो धर्म ? जहाँ मानिसले बनाएको मन्रिमा मानिस पस्न पाउँदैन । त्यो अबोध बालकमा त हाम्रो समाजले हाम्रो रुढीवादी एवं पाखण्डी सोचको लाहाछाप लगाएको छ भने कस्तो धर्म निभाएका छौँ त हामी । सोच्दा पनि नामीठो सपनाजस्तै लाग्छ । परमतत्त्वलाई बुभ्mन नसकी ईश्वरलाई त भाग लगाउने हाम्रो सङ्कुचित सोच राखी के हामी हाम्रो धर्म पालना गरेका छौँ र ?

आजभोलि धर्म किनिन्छ, बेचिन्छ । शायद हामी हाम्रो धर्मलाई सतही रूपमा बुझेका छौँ, त्यसैले धर्मलाई व्यापारको केन्द्रविन्दु बनाएका छौँ । हामीले गहिरिएर बुभ्mने प्रयास ग¥यो भने के हाम्रो आस्थालाई कसैले किन्न सक्छ र ?

किन कसैको दुःख र अभावलाई लक्षित गरी धर्मको राजनीति गर्दै छ – आजको समाज ? जो धर्मको राजनीति गर्छ, उसले दुःख र अभावको जडलाई निःस्वार्थ भावले कम गर्दै जाने कदम उठाएको खण्डमा उसले सही अर्थमा उसको आफ्नो धर्म निभाएको हुन्छ ।

यति भन्दाभन्दै हाम्रो संस्कृति र परम्परा, हाम्रो धार्मिक आस्था र हाम्रो अग्रज पुस्ताले हाम्रो अनुशासित जीवन यापनका लागि, सामाजिक उत्तरदायित्व र सद्भावका लागि गर्दै आएका नीतिनियम सङ्गत अनुकरणीय सोचलाई आफूमा समाहित गर्दै लान सक्नुपर्छ । म स्वयं पनि पशुपतिनाथ मदिर जाँदा र शिव भगवान्लाई भित्री विशुद्ध मनले सम्झिँदा पनि आत्मविश्वास र ऊर्जा मिल्छ । यो मेरो नितान्त आस्था हो । मेरो आस्था मेरो धर्म हो । मेरो धर्मले मलाई सत्कर्ममा हिँड्ने प्रेरणा दिन्छ र सकारात्मक ऊर्जा प्रदान गर्छ भन्नेमा म विश्वस्त छु । यस्तै अरू कसैको आफ्नो आस्था हुन सक्छ, आफ्नो ईश्वरलाई चिन्ने आफ्नो शैली र विश्वास । त्यो विश्वासलाई पनि कदर गर्ने मेरो धर्म हो ।

हामी हरेक पलपलमा हाम्रो धर्म पालना गर्नुपर्छ । हरेक पल र हरेक समय र हरेक परिस्थितिको धर्म आ–आफ्नै हुन्छ । आफ्नो पारिवारिक, सामाजिक उत्तरदायित्व सही रूपमा पालना गर्न सक्नु आफ्नो धर्म निर्वाह गर्नु हो । अरूको विश्वासमा आँच आउने र अरूको खुशी कम गर्ने कर्मले हामी हाम्रो धर्मलाई निभाएका हुँदैनौँ । आफ्नो खुशी र आफ्नो हाँसोसँगै अरूको खुशी र अरूको हाँसोका लागि केही न केही गर्न सक्नु आफ्नो धर्म निभाउनु हो । हामी प्रार्थना गरौँ, हामी हाम्रा भगवान्, हाम्रा ईश्स्वर र अदृश्य शक्तिले हामीलाई हाम्रो धर्म निर्वाह गर्न सक्ने सकारात्मक ऊर्जा र शक्ति प्रदान गरून् ।



प्रतिक्रिया दिनुहोस्