Logo

पाँचथरमा कोरोनाले तीन दिनमा चारको मृत्यु



पाँचथर, असार १२ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणबाट पाँचथरको फिदिममा तीन दिनमा चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जना फिदिम बजारको व्यवसायी रहेका छन् ।

शुक्रबार बिहान फिदिम–२, की ६३ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । पेट दुख्ने समस्या लिएर अस्पताल गएकी उनको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको परिवारले बताएका छन् ।

बिहीबार बिहान फिदिम बजारका दुई व्यवसायीको उपचारकै क्रममा मृत्यु भयो । फिदिम बजारको लखनमार्गमा व्यवसाय गर्दै आएका ५० वर्षीय कोरोना संक्रमित पुरुषको झापाको बी एन्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सोही दिन फिदिम बजारको ठाडो लाइनमा व्यवसाय गर्दै आएकी ४४ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको हो । उनको झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यसअघि बिहीबार फिदिमको लोकतन्त्र चोकमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ५९ वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनको पनि झापाको बिर्तासिटी अस्पतालमै मृत्यु भएको परिवारले बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्