पोखरा, असार १२ । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र माछापुच्छ«े हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ ।
कोरना सङ्क्रमणको हालको अवस्थामा सुधार भएपछि केबलकार परीक्षण गरिने अन्नपूर्ण केबलकारका सञ्चालकमध्येका एक तीर्थराज त्रिपाठीले बताए । गत वर्ष नै निर्माण सम्पन्न गर्ने तयारीमा रहेको केबलकार कोरोना भाइरस सङ्क्रमणका कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको उनको भनाइ छ ।
त्रिपाठीका अनुसार केबलकारका लागि हाल १८ वटा गुन्डला (डिब्बा) रहेका छन् भने थप गरेर ३६ वटासम्म पु¥याउन सकिने कम्पनीले जनाएको छ । हाल जडान गरिएका १७ वटा डिब्बा यात्रुका लागि र एउटा डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ ।
प्रत्येक डिब्बामा एक पटकमा आठ जनासम्मले यात्रा गर्न सक्छन् । फेवाताल किनार सेतीबगरदेखि सराङकोटाको डाँडासम्म करिब आठ मिनेटमै पुग्न सकिनेछ । एक घण्टामा एक हजार पाँच सय जनाले आउजाउ गर्न सक्नेछन् । केही दिनअघि केबलकारको लठ्ठा दुई मिनेट चलाएर परीक्षण गरिसकेको त्रिपाठीले बताए ।
करिब ७५ रोपनी क्षेत्रफल ओगटेको परियोजनाको तल्लो तथा माथिल्लो स्टेसन कङ्क्रिट संरचनामा निर्माण भएको छ भने दुवै स्टेसन भवनमा रेस्टुरेन्ट, पार्किङ, गार्डेन, टिकट काउन्टर, शौचालयलगायतका भौतिक संरचना समेत निर्माण भइसकेका छन् । गोरखापत्र दैनिकबाट