Logo

अनलाइन शिक्षाले आँखामा समस्या



काठमाडौं, असार १२ । अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा सञ्जीव भट्टराईले धेरै समय स्क्रिनमा बिताउनुपर्दा बालबालिकामा आँखाको समस्या आउने बताए। उनले भने, “अहिले धेरै बालबालिकाको ‘स्क्रिन टाइम’ बढिरहेको छ जसका कारण आँखामा धेरै समस्या देखापरिसकेको छ ।”

विशेषज्ञका अनुसार मोबाइल, कम्प्युटर, ल्यापटपमा लामो समयसम्म अध्ययन गर्दा आँखालाई आराम गर्ने समय हुँदैन र यस्ता स्क्रिनले हानिकारक किरण फाल्ने हुँदा बालबालिकाको आँखामा समस्या उत्पन्न हुन्छ ।

उनले आँखाभित्र आँसुलगायतको तरल पदार्थ सुक्दै जाने, सुक्खा हुने, पोल्ने, रातो हुने वा टाउको दुःख्ने समस्या आउने जानकारी दिए । बालबालिकाले धेरै समय स्क्रिन सामु बिताउँदा आँखा झिम्काउने पनि कम हुन्छ र त्यसले आँखा चिलाउने, पोल्ने समस्या हुनसक्छ ।

चिकित्सक डाभट्टराईका अनुसार एक मिनेटमा १० देखि १२ पटक आँखा झिम्काउनुपर्छ । उहाँले सुझाव दिनुभयो, “२० मिनेट हेरेर २० सेकेन्ड आँखालाई आराम दिनुपर्दछ ।” मायोपिया भन्ने दृष्टिदोष देखिन सक्ने उनको भनाइ छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्