काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन्। नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्दै उनले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाल)का प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा आफ्नो तीन वर्ष तीन महिने कार्यकालका महìवपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार पारेको पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका हुन् ।
उत्पत्ति कालदेखि नै नेपालले कायम गरेको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, “छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने छ । यसमा हामी चलाखीले काम लिन चाहँदैनौँ र एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौँ ।”
नेपालले ‘वसुदैव कुटुम्बकम्’ को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप एवं साझा हितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरिरहँदा राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखिने उनको भनाई छ । गोरखापत्र दैनिकबाट