काठमाडौं, १२ असार – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गएराति हत्या गरिएको छ । जेसिबीले ठक्कर दिएर वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोषसिंह राठौरले जानकारी दिएका छन्।
‘विवाद हुँदा रिसको झोकमा जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले जेसिबीको बकेटले हिर्काएर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ’, उनले भने ।
प्रहरी उपरीक्षक (एसपी) राठौरका अनुसार वडाध्यक्ष श्रेष्ठको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा ठेकेदार इन्धन साहनी र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
उक्त पोखरी निर्माणको ठेक्का इल्धन सहनीले लिएका थिए । इल्धनले पोखरी खन्नका लागि प्रेमराज दाहाललाई ठेक्का दिएका थिए
उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी राठौरले जानकारी दिएका छन् ।