२००२ मङ्सिर १४ गते राणा प्रधानमन्त्री जुद्धशमशेरले भतिजा पद्मशमशेरलाई आफ्नो राजपाठ सुम्पँदै आशीर्वाद दिएका थिए, ‘रामराज्य गर्नू ।’ राणा शासनका आठौं प्रधानमन्त्री पद्मशमशेर भीमशमशेरका एक्ला छोरा थिए । उदार तथा प्रजातन्त्रप्रेमी पद्मशमशेरले आफ्नो छोटो शासनकालमै दीर्घकालीन महत्त्व राख्ने थुप्रै काम गरेर देखाए । नेपालको इतिहासमा सामाजिक विकास तथा सुधारहरुका निम्ति चिनिएका पद्मशमशेरको सबैभन्दा चर्चित उद्गार छ- ‘म राष्ट्रको नोकर हुँ ।’
नभन्दै राणा प्रधानमन्त्री पद्मशमशेरको स्वीकृतिमा जनताले विद्यालयहरु खेल्ने अधिकार पाए । पद्मोदय हाइस्कुल उनकै पालामा स्थापना भएको थियो । उनले निजी विद्यालयहरु खोल्नमा समेत प्रोत्साहन गरे । उनले नेपालमा व्यावसायिक शिक्षाको थालनी समेत गरे । नेपालमै पहिलोपटक २००४ जेठ २३ मा आधार विद्यालयको स्थापना गरे जसको उद्देश्य युवक तथा बुढाबुढी सबैलाई साक्षर बनाउनु थियो ।
२००४ पुस १९ देखि त्रिचन्द्र कलेजमा विज्ञान संकायको सुरुवात गरे । उनकै समयबाट नारी शिक्षाको सुरुवात भयो । नारी शिक्षालाई बढी भन्दा बढी प्रोत्साहनका लागि पद्मकन्या कलेज स्थापना गरे । साथसाथै उनले अन्य थुप्रै कन्या स्कुल खेल्ने काम गरे । त्यसैले उनलाई ‘स्कुलका पिता’ पनि भन्ने गरिएको छ ।
उनकै पालादेखि ‘गोरखापत्र’ हप्तामा तीन दिन प्रकाशित हुन थाल्यो । मोरङमा सर्वसाधारणलाई पनि बिजुली बत्ती दिए । त्यस्तै सर्वसाधारणले घरमा रेडियो सेट राख्न पाउने भए । नेपालको इतिहासमै पहिलो निर्वाचन गराए । वि.सं. २००४ मा काठमाडौंमा गरिएको उक्त निवार्चनमा त्रिपुरवर सिंह निर्वाचित भए । दुनियाँका पिरमर्का र गुनासा सुन्नका लागि उनले चिठ्ठी जाहेरी निक्सारी अड्डा स्थापना गरे भने सोझै प्रधानमन्त्रीलाई भेटी जनताले गुनासा र सुझाव दिन सक्ने वातावरण बनाए ।
‘नेपालको वैधानिक कानुन’ उनकै पालामा निर्माण भएको थियो । जसमा मौलिक हक, मन्त्रीमण्डलको व्यवस्था, पञ्चायती सभाको व्यवस्था, व्यवस्थापिका सभा, न्याय व्यवस्था र दरखास्त परिषद्को स्थापना आदि उल्लेख छन् । मौलिक हकमा वाक प्रकाशन स्वतन्त्रता, संघ संस्था खोल्न पाउने, कानुनी समानता, धार्मिक स्वतन्त्रता, वयस्क मताधिकार, निशुल्क प्राथमिक शिक्षा पाउने अधिकार प्रमुख छन् । तर नेपाल वैधानिक कानुन कार्यान्वयन हुन पाएन ।
त्यस्तै, पद्मशमशेरले दरखास्त परिषद्को माध्यमबाट सरकारी सेवाका लागि चाहिने कर्मचारीहरु भर्ना गर्ने व्यवस्था गरे । यो हालको लोकसेवा आयोगले गर्ने जस्तै काम गर्दथ्यो । सरकारी मूल्यभन्दा बढी मूल्यमा मालसामान बिक्री गर्न नपाउने नियम बनाए । वि.सं. २००४ सालमै नेपाल खाद्य परिषद्को स्थापना गरे । २००३ फागुनमा १५ लाखको लगानीमा मोरङ सुगर मिल्स खोले । यसका साथसाथै २००३ भदौमा रघुपति जुटमिल्स पनि स्थापना गरे ।
सबैभन्दा रोचक के भने राणा प्रधानमन्त्री पदमशमशेरले जनतालाई चुरोट नपिउन सन्देश पनि दिएका थिए । उनको हस्ताक्षरसहित फेला परेको सानो पर्चामा चुरोट झिकाउनका निम्ति हाम्रो मुलुकबाट प्रतिवर्ष ५०-६० लाख रुपियाँ विदेश जाने गरेकाले मुलुकमा ठूलै आर्थिक धक्का परेको उल्लेख गरेका छन् । यति मात्र होइन, पहिले आफूले पनि प्रतिदिन ५०-६० ओटा चुरोट खाएको तर पछि चुरोट छोडेर तमाखु खान थालेको बताएका छन् । उनले भनेका छन्, ‘स्वास्थ्यलाई समेत हानि गर्ने यो चुरोट खानु एउटा बहुतै खराब अम्मल हो । यो अम्मललाई सकेसम्म एकै दिनमा छोडनु वेश हो, नसके अलिअलि घटाउँदै लगेर छोडे पनि हुन्छ । जसरी हुन्छ यो खराब लतलाई सबैले छोड्नमा नै वेश छ ।’
नेपाल देशवासीहरुलाई श्री ३ महाराज पद्मशमशेर जंगबहादुर राणाको संदेश
मेरा देशबासी दाजुभाई दिदी बहिनीहरुहो!
चुरोट झिकाउनका निम्ति हाम्रो मुलुकबाट प्रतिवर्ष ५०-६० लाख रुपिया विदेशमा जान्छ । यसबाट पनि हाम्रो मुलुकमा एउटा ठूलै आर्थिक धक्का परेको छ । पहिले म पनि प्रतिदिन ५०-६० ओटा चुरोट खान्थे, मैले चुरोट खान एकदम छोडि नै दिएको तीन वर्ष भो । त्यसपछि मैले बराबर तमाखु मात्र खाने गरेको छु, चुरोट छोडेर तमाखु मात्र खानाले मलाई कुनै किसिमको हानि भएको छैन । स्वास्थ्यलाई समेत हानि गर्ने यो चुरोट खानु एउटा बहुतै खराब अम्बल हो । यो अम्बललाई सकेसम्म एकै दिनमा छोडनु बेस हो, नसके अलि अलि घटाउँदै लगेर छोडे पनि हुन्छ । जसरी हुन्छ यो खराब लतलाई सबैले छोड्नमा नै बेस छ । यो मेरो प्रार्थनालाई विचार गरेर तिमी पनि चुरोट छोडने चेष्टा गर्नेछौ भन्ने आशा गर्दछु ।
श्री ३ महाराज पद्मशमशेर ज.ब.रा.
पद्मशमशेरको उदार चरित्र, सामाजिक तथा राजनीतिक सुधार आदिका कामबाट चन्द्रशमशेरका छोराहरु रुष्ट भए । रोलवाला भाइभतिजाबाट आफ्नो सुरक्षामा खतरा ठानी उनले प्रधानमन्त्रीको अफिसियल निवास सिंहदरबार नसरी बालुवाटार छेउ विशालनगरस्थित आफ्नो विशालनगर दरबारबाटै शासनसत्ता चलाउनु परेको थियो । र, भारत जान लागेका पद्मशमशेरलाई राजीनामा दिन बाध्य तुल्याई सत्ता हत्याउन सफल भए चन्द्रशमशेरका जेठा छोरा ६४ वर्षे मोहनशमशेर । २००५ वैशाख १४ गते पद्मशमशेर छातीमा रूद्राक्षको माला र भगवान् रामको फोटोफ्रेम झुण्डाएर रूँदै रूँदै भारततिर निस्किए । तस्बिरः https://www.opmcm.gov.np