मनाङ, असार १४। मनाङको सदरमुकाम चामेस्थित मोटरेबल पुल नदी कटानको जोखिममा परेको छ । मर्स्याङ्दी नदीको धार पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगाउन कठिन भएको हो । अहिले एक्स्क्याभेटरको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । नदीले बगाएर ल्याएका काठ पुलमा अड्किँदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ ।
वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा हेभी इक्वीपमेन्ट प्रयोग गर्न असहज भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । ‘नदीले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ, त्यसैले मेशिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो । तेल त आइपुग्यो । काम गर्न सकिएको छैन,’ उनले भने, ‘पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल र बस्ती बचाउन चुनौती भयो ।’
मन्त्रालयले बाढीपहिरोका कारण अवरुद्ध बेसीशहर–चामे सडक तत्काल खुलाउन माताहतका निकायलाई निर्देशन दिएको छ । मेशिन चलाउन इन्धन अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन चामे ल्याइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नदीको धार परिवर्तन गराउन उपकरण प्रयोग गर्न कठिन भएको उनले बताए । आर्थिक अभियान दैनिकमा खवर छ ।