काठमाडौं, १५ असार । नेपाली कांग्रेसका नेताहरु डा. शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीचको छलफल सम्पन्न भएको छ । सिंहको ठमेलस्थित् चाक्सीबारीमा भएको छलफलमा १४औं महाधिवेशन केन्द्रित छलफल भएको हो । बैठकलगत्तै मिडियाकर्मीसँग सिंहले नै कुराकानी गरेका छन् ।
उनले भेटवार्ताबारे सुनाए–‘हामी तीन जनाबीच भेट भयो । आज दही चिउरा खाने दिन पर्यो । पहिल्यै नै तय भएअनुसार भेट भएको हो । यो भेटमा खास गरेर नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई समयमै सम्पन्न गराउनको लागि छलफल भयो । क्रियाशिल सदस्यताको बारेमा र समायोजनाको बारेमा पनि छलफल भयो । र, मुख्य कुरा के हो भने नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी हो । विधि र प्रक्रिया पुरा गरेर सबैलाई सदस्यता दिईनुपर्छ । तर, विधि र प्रक्रिया नपुर्याईकन दिनु हुँदैन् । यसबारेमा हाम्रो छलफल भएको छ ।’
उनले तीनै जनामात्रै बसेर र यसरी छलफल गरेरभन्दापनि सबै नेता बसेर यो विषयमा छलफल गरिने जनाए । उनले भने,‘हन त यो देशव्यापी रुपमा यसले एट्रयाक्सन छ । अलिकति छलफलको दायरालाई विस्तारित गर्नुपर्छ । डा. शशांक कोइरालाको निवास, टोखामा हामी शुक्रबार छलफल गर्नेछौं । केन्द्रीय सदस्यहरुसँग छलफल हुनेछ ।’ तपाईँहरुमध्ये सभापतिमा को लड्ने ? सहमति भयो त ? भनेर सोधिएको प्रश्नमा उनले भने,‘फल काँचोमा खाँदा मिठो हुँदैन् । मेन कुरा के हो भन्दाखेरि डिसिजन मेकिङमा सल्लाह सबैसँग गर्नुपर्छ । सबैको सल्लाह, सुझाव लिएर निर्णय गर्छौं ।”
https://www.facebook.com/uplamichhane/videos/10159583984397329