काठमाडौं, १८ असार । टोखा नगरपालिकाको आज बस्ने नगरसभाले एकपक्षीय ढंगले बजेट पास गर्न लागेको भन्दै ५ वडा अध्यक्ष सहित २१ जना नगर सदस्यले नगरसभा बहिस्कार गरेका छन् । नगरपालिकाले जनताको माग सम्बोधन नगरी लापरवाही तरिकाले एक पक्षीय हिसाबले बजेट पास गर्ने तयारी भइरहेकोे वडा नं २ का वडा अध्यक्ष दिपकराज जोशीले बताए ।
जोशीले समाज र जनताको लागि राखेको माग नगरपालिकाले सम्बोधन नगरी पेलेर आफु अनुकुलको बजेट पेश गर्न लागेकोले बहिस्कार गर्न बाध्य भएको सुनाए । आफुहरुको भने बमोजिम माग पुरा नभएपछि सभामा बस्नुको औचित्य नभएको भन्दै आफुहरु बाहिर छलफलमा बसेको जानकारी दिए ।
जोशीले भने, ‘सबै वर्गलाई लक्षित गरेर ५० प्रतिशत कर छुट गरेर सबैले तिर्न सक्ने वातावरण बनाउन प्रस्ताव राख्दा पनि सुनवाई भएन् ।’ उनले तोकिएको उमेर समुह अनुसार कोरोना खोप नदिएर नगरपालिकाले आफ्ना पार्टीका कार्यकर्तालाई दिएको आरोप समेत बताए ।
अध्यक्ष जोशीले बजेट कार्यकर्ता र निर्वाचनमुखि बनाएको भन्दै अनियमितता भएको जिकिर गरे । वडाको माग नगरपालिकाले सम्बोधन नगरेको उनको तर्क छ ।
टोखा नगरपालिकाका वडां न.२, ३, ६, ८ र ११ वडाका ५ अध्यक्षसहित १६ नगर सदस्यले आज बहिस्कार गरेको उनले जानकारी दिए । नगरपालिकाका मेयर प्रकाश अधिकारी र उप–मेयर ज्ञानमाया डंगोल हुन् ।