काठमाडौं, असार १९ । नेपाली कांग्रेसका नेता सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएकी छन्।
नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कांग्रेस महाधिवेशन र श्रमजीवी’ विषयक भर्चुअल अन्तर्क्रिया यामा उनले लोकतन्त्र स्थापनमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन्।
पूर्व उपप्रधानमन्त्री कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्ने बताइन्। वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उनको भनाइ थियो।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको रुपान्तरणका लागि श्रमिकको महन्त्वपूर्ण भूमिका रहेको बताए। पार्टी र श्रमिक सँगसँगै गए मात्र पार्टी बलियो हुने उनको भनाइ थियो। प्रवक्ता शर्माले सरकारले जनताको हितमा काम गर्न नसकेको बताए। नागरिक दैनिकबाट