काठमाडौं, असार २३ । नेकपा एमालेको जारी विवाद मिलाउन कार्यदल सक्रिय भएको छ । पार्टी एकतालाई बचाउनका लागि यसअघि गठन भएको कार्यदल पुनः सक्रिय बनेको हो । पार्टीभित्र संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समुह आ–आफ्नै अडानमा बसिरहेको बेला कार्यदलभित्र सहमतिको खोजी शुरु भएको छ ।
कार्यदलको बैठकमा सहमतिको खोजी शुरु भए पनि सहमतिको खाका भने तयार भइसकेको छैन । दुई दिनयता कार्यदलमा सहभागी नेताहरूले औपचारिक रुपमा एकतालाई बचाउने विधिको खोजी गरिरहेका छन् । नेपाल समूहले सर्वोच्च अदालतको फैसलाबमोजिम २०७५ जेठ २ अघिकै कमिटीलाई ब्युँताउनुपर्ने माग राखे पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले उक्त माग पूरा नगरी १०औं महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तरण गर्नुभएको छ । उक्त निर्णयसँगै पार्टीभित्र निर्माण हुँदै गएको सहमतिको वातावरण बिग्रिएको बताइएको छ ।
मंगलबार पनि कार्यदलमा सहभागी नेताहरूबीच सिंहदरबारमा बैठकमा खासै सहमति हुन नसकेको बताइएको छ । सहमतिको खोजी गर्दै कार्यदलमा सहभागी नेताहरूले अध्यक्ष ओली र नेता नेपालको संयुक्त वक्तव्य जारी गर्ने तयारीमा जुटेका छन् । तर दुवैको अडान कायमै रहेको कारण कार्यदलमा सहमति निर्माणमा कठिनाइ कायमै रहेको बैठकमा सहभागी एक नेताले बताए । नेपाल समाचारपत्र दैनिकबाट