Logo

भ्याक्सिनमार्फत् विश्वभर प्रभाव बढाउँदै चीन



काठमाडौं, २३ असार । चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिनमार्फत् विश्वभर प्रभाव बढाउने रणनीति बनाएको छ । चीनले सामरिक महत्वका देशहरुमा भ्याक्सिन अनुदान र विक्री दुवै गरेको छ । यसबाहेक कतिपय देशहरुमा भ्याक्सिन उत्पादन स्थानीय तहमै गर्न थालेको छ ।

चीनले अफ्रिकामा स्थानीय तहमै भ्याक्सिन उत्पादन गर्ने तयारी गरेको छ । चिनियाँ भ्याक्सिन उत्पादक दुई कम्पनीले इजिप्ट र मोरक्कोमा पनि उत्पादन गर्न लागेका छन् । सिनोफामले मङ्गलबार मोरक्कोसँग मासिक ५० लाख डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनको सम्झौता गरेको सूचना जारी गरेको छ । भ्याक्सिन मोरक्कोमा र अफ्रिकाका अन्य देशमा खपत गर्ने उद्देश्य राखिएको छ ।

इजिप्टले चीनको सिनोभ्याकले विकास गरेको भ्याक्सिन उत्पादन सुरु गरेको छ । सोमबार इजिप्टले १० लाख डोज भ्याक्सिन उत्पादन गरेको जनाएको छ । भयाक्सिनका लागि आवश्यक कच्चा पद्धार्थ पर्याप्त मात्रामा प्राप्त भए उत्पादन दोब्बर हुने इजिप्टका प्रधानमन्त्री मोस्टाफा माडबुलीले भनेका छन् ।

अफ्रिकाको दक्षिण अफ्रिका र जाम्बियामा पनि चिनियाँ भ्याक्सिन उत्पादनको तयारी बढाइएको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले युरोपेली देशहरुले फुस्रो आश्वासन मात्र दिएर अफ्रिकी देशहरुलाई निराश बनाएको उल्लेख गरेको छ । यही समयमा चीनले स्थानीय स्तरमै भ्याक्सिन अफ्रिकामा उत्पादनको तयारी गरेको भनिएको छ ।

चीनले ४० अफ्रिकी देशहरुलाई भ्याक्सिन प्रदान गर्ने लक्ष्य लिएको छ । भ्याक्सिन आपूर्ति हुन थालेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व स्वास्थ्य सम्मेलनलाई गत वर्ष सम्बोधन गर्दा चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई विश्वकै सार्वजनिक वस्तु भनेका थिए । उनले चीनले भ्याक्सिन सँसारलाई नै वितरण गर्ने बताएका थिए ।

चीनले भ्याक्सिन अनुदान र सशुल्क प्रदान गर्दै आएको छ । नेपालमा पनि चीनले शुरुमा भ्याक्सिन अनुदानमा दियो । १० लाख डोज अनुदानमा दियो । ४० लाख डोज भ्याक्सिन नेपालले खरिद सम्झौता गरेर धमाधम ल्याउँदैछ ।

पाकिस्तानमा पनि चिनियाँ भ्याक्सिनको ठूलो मात्रा पुगिसकेको छ । पाकिस्तानले चीनसँग भ्याक्सिन खरिद पनि गरिसकेको छ ।

चीनले एशिया, यूरोप, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिकाका देशहरुलाई भ्याक्सिन सुरुमा अनुदानमा दियो । पछि भ्याक्सिन विक्री गर्यो । केही धनी देशहरुले चीनसँग भ्याक्सिन खरिद गरे । ब्राजिल, अर्जेन्टिना, बहराइन, कोलम्बिया, हंगेरी, चिली, इन्डोनेशिया, जोर्डन, मलेशिया, मालदिभ्स, मेक्सिको, मोरक्को, टर्की, पेरु, युक्रेन जस्ता देशहरुले भ्याक्सिन खरिद गरे ।

चीनले विश्वका कम विकसित देशहरुलाई भ्याक्सिन सुरुमा अनुदान दियो । त्यसपछि भ्याक्सिन विक्री गर्न थालेको छ । चीनले भ्याक्सिनमार्फत् प्रभाव बढाएको छ । चिनियाँ व्यापारीहरु भ्याक्सिन कुटनीतिसँगै विश्वका कुनाकाप्चामा फैलन थालेका छन् ।

भ्याक्सिन कुटनीतिमार्फत् चीन फैलँदै गर्दा अमेरिका, बेलायत जस्ता भ्याक्सिन उत्पादक देशहरुले अल्पविकसित देशहरुलाई दिन ढिलाई गरे । उनीहरु आफ्नो देशमै केन्द्रित भए । अमेरिका र यूरोपको व्यवहारले अल्पविकसित देशहरु निराश भए ।

भारतले अक्सफोर्ड भ्याक्सिन उत्पादन गरी विश्वभर आपूर्ति गर्न खोज्यो । नेपालमा पनि अनुदानको भ्याक्सिन आयो । दक्षिण एशियालगायत एशियाका विभिन्न भूभाग र अफ्रिकासम्म भारतमा उत्पादित भ्याक्सिन पुग्यो । तर, भारत आफै कोरोना भाइरसको दोस्रो लहरको चुनौती सामना गर्न पुग्यो । उसले भ्याक्सिन बाह्य मुलुकमा जानबाट रोक्ने निर्णय लियो । भारतको भ्याक्सिन कुटनीतिमा नराम्रो धक्का लाग्यो । यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा चीनलाई पुग्यो ।

-Photo Credit: Xinhua



प्रतिक्रिया दिनुहोस्